विश्वकै अग्लो ठाउँमा नारी दिवस : जलवायु परिवर्तन र महिला अधिकारको वकालत

 फागुन २४, २०७९ बुधबार १७:१७:२८ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले महिलाहरू जलवायु परिवर्तनको असरको सिकार बनेका बताउनुभएको छ । सामाजिक संस्थाका साथसाथै र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त आयोजनामा खुम्जुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानामगरले आफूले खुम्बु क्षेत्रको पदयात्रा गर्दा जलवायु परिवर्तनकै कारण महिलाहरूले धेरै समस्या भोगेको देखेको भन्दै राज्यले नीतिगतरूपमै हिमाली भेगमा जलवायु अनुकूलनका कार्यक्रमको व्यवस्था गर्ने बताउनुभयो । 

‘यहाँको कृषि, स्वास्थ्य र पर्यापर्यटनमा निकै नै प्रभाव परेको देखियो, अब यसको समाधानमा सिङ्गो राज्य लाग्नुपर्छ, त्यसको पहलकदमी म गर्छु’, उपसभामुख रानामगरले भन्नुभयो । 

बुधवार १ सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेकाे खुम्बुपासाङल्हामु वडा नम्बर ४ खुम्जुङमा सम्पन्न कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री तथा राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले खुम्बु क्षेत्रका महिलाले भोगेका समस्या देशकै प्रतिनिधिमूलक भएको बताउनुभयो । उहाँले महिला स्वास्थ्य, कृषि र पर्यटनमा जलवायु अनुकूलनका कार्यक्रम ल्याउन माथिल्लो सदनमा आवाज उठाउने धारणा राख्नुभयो । 

‘वर्षाैँदेखि हिमाली भेगको वातावरण झेल्दै आइरहेका हिमाली भेगका महिलाहरूको अहिलसम्मको भोगाइ, सिकाइ तथा अनुभव राज्यका लागि नीति निर्माणको आधार बन्न सक्छ’, उहाँले भन्नुभयो, ‘म नीति निर्माण तहमा यहाँको वातावरण र पर्यावरण जोगाउने विषयमा जोडदार कुरा उठाउँछु ।’

जलवायु विज्ञ डा. माधव कार्कीले नेपालको जलवायु परिवर्तनको नीतिमा नै महिलाहरूकाे जलवायु परिवर्तनसम्बन्धी अधिकार सुनिश्चित गरेको बताउनुभयाे । उहाँले जलवायु परिवर्तका कारण हिमाली क्षेत्रमा पानी आपूर्तिमा गम्भीर समस्या हुनुका साथै बेमौसममा उच्च तापक्रमका कारण हिउँ पग्लेर हिमाल आरोहणमा पनि समस्या सिर्जना हुने बताउनुभयो । उहाँले जलवायु अनुकूलनको कार्यक्रममा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको धारणा राख्नुभयाे ।

आयोजक संस्थाकी अध्यक्ष प्रजिता कार्कीले आउँदाे वर्ष यूएईकाे दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा नेपालले पर्वतीय मुद्दामा नेतृत्वका साथ यस क्षेत्रकाे समस्या उजागर गर्नुपर्ने बताउनुभयो  । हिमाली मुद्दामा सिङ्गो राज्यको प्राथमिकता पर्नुपर्ने यहाँको जोड छ । 

कृषि मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले मन्त्रालयले हरेक पालिकामा जलवायु अनुकूलनका लागि कार्यक्रमहरू सञ्चालन गरिरहेको र आउँदा दिनमा नीतिहरू परिमार्जन गर्दै लैजाने बताउनुभयाे । यस्तै गाउँपालिका उपाध्यक्ष टासिल्हामु शेर्पाले पालिकाले वातावरण संरक्षण र पर्यावरणको पक्षमा उल्लेख्य काम गरेको भन्दै सगरमाथा विश्वकै सम्पत्ति रहेकाले यस क्षेत्रको सरंक्षणमा सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा अभियन्ता शरु श्रेष्ठले जलवायु परिवर्तनका चुनौती सामना गर्न देशलाई सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग खोज्न पहल गर्ने, हिमालय र तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीमा विश्वव्यापी ध्यान आकर्षित गराउने आफूहरूको लक्ष्य रहेको बताउनुभयो । यस्तै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाली भेगमा हिउँ पर्न छाडेको विषय र यहाँका महिलाहरूले भोगेका सवाल आमसञ्चारकाे प्राथमिकतामा पर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस अवसरमा खुम्बु महिला समूहका अध्यक्ष तथा प्रतिनिधिहरूले आफूहरूले पिउने पानी, स्वास्थ्य र पर्यावणीय समस्या झेल्नुपरेको भन्दै राज्यको खबरदारी गरेका छन् । कार्यक्रममा नेपालमा रहेकाे संयुक्त अरब इमिरेट्स (यूएई) राजदूतावासको विशेष सहयोग तथा नेपालको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, यूएनडीपी, इसिमोड, राष्ट्रिय प्रकृति संरक्षण कोष, खुम्बुपासाङल्हामु गाउँपालिका लगायत सङ्घ–संस्था र निकायको सहकार्य रहेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया