गुल्मीकाे धुर्कोटमा नयाँ गुफा भेटिएपछि हेर्न जानेहरूको घुइँचाे

 फागुन २५, २०७९ बिहिबार २०:१:३४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा भेटिएको छ । छ दिनअघि हाडहाडेको बर्दबासमा रहेकाे धाराखोलामा झन्डै एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिनुभयाे । गुफा भेटिएको जानकारी पाएपछि अहिले धुर्कोट गाउँपालिकादेखि जिल्ला सदरमुकाम तम्घासलगायतका ठाउँबाट हेर्न जाने मानिसहरूको भिड बढ्दै गएको छ । 

दुम्सीको दुलो भनेर चिनिएको यस ठाउँमा मान्छे छिर्न सक्ने प्वाल रहेको थियो । गुफाभित्र शिवलिङ्ग, गाईका थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर बसेको, नाग तथा खेतबारीजस्तो देखिने विभिन्न आकर्षक आकृतिहरू रहेको वडाध्यक्ष विष्टले बताउनुभयो । 

नयाँ गुफा फेला परेको जनाकारी पाएपछि अहिले मानिसहरू अवलोकनका लागि पुग्ने गरेका छन । पाँच दिनको अवधिमा आठ सय जनाभन्दा धेरैले गुफाको अवलोकन गरिसकेका वडाध्यक्ष विष्टले बताउनुभयो ।

मान्छे लुक्न मिल्ने प्वाल भेटिए पनि स्थानीयले यस ठाउँलाई साराको दुलोको नामले चिनाएका थिए । केही दिनअघि गफगाफको क्रममा स्थानीयले यस ठाउँमा प्वाल भएको चर्चा चलाएका थिए । सबै मिलेर छलफल गरेपछि गुफाभित्र पसेर हेर्ने निष्कर्षपछि वडाध्यक्ष विष्टकै पहलमा स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा प्वालभित्र जाँदा गुफा रहेको पत्ता लागेको हो । यस गुफाको चौडाइ र उचाई पाँचदेखि आठ फुटसम्म रहेको बताइएको छ । 

नयाँ फेला परेको गुफालाई स्थानीयले 'धनिश्वर मनोरम नागेश्वर गुफा' भनी नामाकरण गरेका छन् । गुफालाई संरक्षण गर्नका लागि रामप्रसाद कुँवरको अध्यक्षतामा १३ सदस्यीय संरक्षण समिति, प्रेम नेपालीको संयोजकत्वमा प्रचारप्रसार समिति र जुद्धबहादुर खत्रीको संयोजकत्वमा सल्लाहकार समिति गठनसमेत गरिएको छ । हाडहाडेमा भेटिएको नयाँ गुफासँगै धुर्कोट गाउँपालिकामा 'विचित्र गुफासहित' गुफाको सङ्ख्या दुई वटा पुगेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

2 Comments

  • padam nepali

    March 10, 2023, 11:03 p.m.

    असाध्यै राम्रो काम खुसी लाग्यो येस्लाई सम्रछ्ण गरि पर्चार पर्सार गर्नु पर्छ र आन्तरिक र बाय प्रयटक भित्राउनु पर्छ तेस्तै अर्को गुफा र नजिकै बिचित्र गुफा पनि यी 2 ओटा गुफा धुर्कोट गाउपालिका भित्र पर्छ

  •  0 Reply
  • Sagar thapa

    March 10, 2023, 8:34 a.m.

    Ramro xa aajai ramri baunu parxa sir🙏

  •  0 Reply

तपाईको प्रतिक्रिया