जेहनदार विद्यार्थीलाई प्रोत्साहन गर्न मासिक ४ हजार रुपैयाँ छात्रवृत्ति दिँदै रेसुङ्गा नगरपालिका

 फागुन २६, २०७९ शुक्रबार २०:०:५१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३ दशमलव २ भन्दामाथि जीपीए ल्याएर नगरपालिकाभित्रका विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गरेको छ ।विद्यार्थीहरू अध्ययनका लागि बाहिर जानेक्रम बढ्दै जान थालेपछि नगरपालिकाले त्यसलाई रोक्नका लागि जेहनदार विद्यार्थीहरूलाई प्रोत्साहन गर्न मासिक चार हजार रुपैयाँका दरले छात्रवृत्ति रकम उपलब्ध गराउन थालेको छ ।

नगरपालिकाले एसईईमा ३ दशमलव २ भन्दामाथि जीपीए ल्याएका ९६ जना विद्यार्थीलाई शुक्रवार सम्मान गरेको हो । नगरपालिकाले जेहनदार छात्रवृत्ति कार्यक्रमअन्तर्गत विनियोजन गरेको रकमबाट ती विद्यार्थीहरूलाई सम्मान गर्दै चेकको माध्यमबाट रकम हस्तान्तरण गरेको हो । 

नगरपालिकाको यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका विद्यालयहरूबाट उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई नगरमै पढ्ने वातावरण सिर्जना गर्न नयाँ शैक्षिक अभियान सुरु गरेको रेसुङ्गाका मेयर खिलध्वज पन्थीले बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न पनि यो कार्यक्रममले महत्त्वपूर्ण अर्थ राख्ने अपेक्षा गर्नुभयो । 

नगरपालिकाले ३ दशमलव २ भन्दामाथि जीपीए ल्याई नगरभित्रकै विद्यालयमा अध्यनरत रेसुङ्गा माविका ३६, सिद्धबाबा माविका ३५ र महेन्द्र माविका २५ जना छात्रछात्रालाई जनही मासिक चार हजारका दरले वार्षिक ४८ हजार रुपैयाँको चेक उपलब्ध गराएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले नगरले चौमासिकरूपमा १६ हजार रुपैयाँका दरले विद्यार्थीहरूको बैंक खातामा रकम उपलब्ध गराउँदै आएको भन्दै कक्षा १२ मा पनि त्यहीअनुसार जीपीए ल्याउने विद्यार्थीहरूलाई सहयोग गर्ने नीति रहेको जानकारी दिनुभयो । 

नगरभित्र रहेका माध्यमिक विद्यालयहरूमध्ये सबैभन्दा बढी जीपीए ल्याउने रेसुङ्गा माविमा अध्ययनरत छात्रा गृष्मा पाण्डे र त्यी विद्यालयका छात्र प्रशान्त पन्थीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया