म्याग्दीकाे पर्यटकीय क्षेत्र महरेडाँडाको सुन्दरता (फोटोफिचर)

 फागुन २७, २०७९ शनिबार ९:४६:३२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – प्रकृतिले दिएको वरदान पनि ठाउँ र परिवेश अनुसार फरक–फरक हुन्छन् । कहीँ अग्ला हिमालचुलीहरु देखिने टाकुरा, पहाड र डाँडाकाँडा छन् । कतै गहिरो अन्धगल्छी, खोल्साखोल्सी, खोलानाला, तालतलैया, हरियाली वनजङ्गल भेटिन्छन् । प्रकृतिले दिएका वरदान अनेक र थरीथरीका छन् । 

हिमाली जिल्ला म्याग्दी पनि प्रकृतिले थुप्रै उपहारहरुबाट सिङ्गारिएको छ । यहाँ पर्ने अग्ला हिमालचुलीका साथै सुन्दर झरना, तातोपानीका कुण्ड र मुहानहरुको आकर्षण छुट्टै छ । यसको साथमा म्याग्दीमा पौलस्त्य–पुलहाश्रम, ऐतिहासिक जगन्नाथधाम, डढेकोत, गलेश्वर शिवालयलगायत धार्मिक क्षेत्रहरु पनि अवस्थित छन् । ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको सम्मिश्रणले गर्दा म्याग्दीले पर्यटनमा चर्चा बटुल्ने गर्दछ । 

पर्यटकीय क्षेत्रहरुमध्ये विश्वमा चर्चित राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने पर्यटकीय क्षेत्र महरेडाँडा पनि एक हो । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेमा पर्ने महरेडाँडा पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गइरहेको छ । समुद्री सतहदेखि तीन हजार तीन सय १३ मिटरको उचाइमा रहेको पर्यटकीय क्षेत्र महरेडाँडाबाट अग्ला हिमालचुलीसहित मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट संसारको सातौँ अग्लो चुचुरो धौलागिरि रेञ्ज र दशौँ अग्लो अन्नपूर्ण रेञ्जमा पर्ने सबै हिमालहरु देखिन्छन् । 

महरेडाँडाबाट पुतली, चुरेन, गूर्जा, धौलागिरि, मानापाथी, टुकुचे, निलगिरी, अन्नपूर्ण प्रथम, अन्नपूर्ण साउथ, लमजुङ, धम्पुस, मार्दी, मनास्लु, माछापुच्छ्रेसहित विभिन्न नामाकरण गरिएका झण्डै दुई दर्जन हिमालहरु देखिने पर्यटक गाइड कान्छालाल गुरुङले बताउनुभयो । धौलागिरि हिमालमा मात्रै धौलागिरि प्रथमदेखि धौलागिरि छैटौँसम्म विभिन्न छ वटा चुचुराहरु रहेका छन् । महरेडाँडाबाट स्पष्टसँग आँखै अगाडि हिमालहरु देखिन्छन् । साथै अग्लो ठाउँमा भएकाले मौसम राम्रो भएमा पोखराको बजार, फेवाताल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि महरेडाँडाबाट देखिने महरेवासीहरु बताउँछन् । 

पर्यटकीय क्षेत्र महरेडाँडामा पछिल्लो समय नेपाली पर्यटकहरु धेरै जाने गरेका छन् । फ्रान्स, जर्मनी, अमेरिका, रसियालगायत देशबाट पर्यटकहरु आउने गरेको महरेडाँडा सामुदायिक लजका सुपरभाइजर नवीन पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यसपटक २०२३ सुरु भएदेखि अहिलेसम्म २ सयभन्दा बढी स्वदेशी र विदेशी पर्यटकहरु आइसकेका छन् । यो सिजनका लागि अझ धेरै बुकिङहरु पनि भइरहेको छ ।’ महरेडाँडाको भ्रमणमा खासगरी स्वदेशी र विदेशी पर्यटकहरु भदौदेखि कात्तिक र फागुनदेखि वैशाखसम्म अधिक जाने गर्दछन् । पदयात्रा गर्न रुचाउनेहरु महरेडाँडा पुग्ने गरेको पाइन्छ । 

महरेडाँडाको भ्रमणका लागि म्याग्दीको बेनीबाट नागी र राम्चे हुँदै आलडाँडा भएर तथा कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी–कोखे हुँदै महरे पुगेर रमाउन सकिन्छ । यसैगरी म्याग्दीको बेनीबाट घोरेपानी–पुनहिल भएर पनि महरेडाँडा पुगिन्छ भने पर्वतको मिलनचोक–सालिजा–जलजला हुँदै महरेडाँडा पुगिन्छ ।   

चैत, वैशाखमा महरेडाँडा आसपासको वनजङ्गल क्षेत्रमा ढकमक्क फुल्ने राताम्य लालीगुराँसले पनि पर्यटकहरुलाई खुब लोभ्याउने गर्दछ । महरेडाँडाको वरिपरिबाट छर्लङ्गै देखिने मनोरम हिमश्रृङ्खला, हरियाली वनपाखा, लेकाली जङ्गल, जडीबुटीहरु, तरेली परेका डाँडाकाँडा र पहाडका थुम्का, लोपोन्मुख वन्यजन्तु जनावर तथा चराचुरुङ्गीको समेत अवलोकन गर्न पाउनु महरेडाँडाको थप आकर्षण र विशेषता रहेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया