आईएमई पेबाट आईएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ ह...
जेठ २४, २०८० बुधबार
काठमाण्डौ - काठमाण्डौको बाग्मती नदी अहिले पनि 'ढलमती' उपनामले परिचित छ । केही वर्षदेखि बाग्मती सरसफाइ अभियानसँगै नदीमा केही फोहर कम भएकाे छ तर नदीमा फोहर फाल्नु हुँदैन भन्ने जनचेतना व्यापक हुन सकेको छैन ।
ढल, फोहर र दुर्गन्धपूर्ण बाग्मती नदी स्वच्छ, सफा र सुन्दर भएर आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ । सबै मिलेर फोहर नफाल्ने हो भने फेरि बाग्मती नदी छेउमा हरियाली र प्राकृतिक बास्नासहित बहनेछ । काठमाण्डाै उपत्यकाभित्र त बाग्मती फोहर छ नै चोभार नजिकबाट काठमाण्डाै बाहिरिने क्रममा पनि कालो बाग्मती नदीको पानी देख्दा सबैले नाकमुख थुन्छन् ।
काठमाण्डाैको सिनामङ्गल क्षेत्रमा सुकुम्वासीले बाग्मती नदी हडपेर बनाएको टहरा होस् वा गोकर्णमा रहेकाे बाग्मती नदी किनारमा बनाइएको शौचालय यी सबैले काठमाण्डाै जस्तो सुन्दर, विकसित सहरलाई गिज्याउँछ । काठमाण्डाै उत्तरबाहिनीमा रहेकाे बाग्मती नदीमा मिसाइएको नाली, ललितपुर सानेपाबाट बाग्मतीमा मिसाइएको ढल, कुपण्डोल यूएन पार्कनजिक बाग्मती नदी किनारमा भत्केको बार, बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहर, सुन्दरीघाट बाग्मती नदी छेउ थुपारिएको फोहर, कुलेश्वर छेउको बाग्मती र सुकुम्वासी बस्ती यी सबैले विकसित सहरका अविकसित मानिसको सोचलाई दर्शाउँछ ।
यसमा कोही एक व्यक्तिले मात्रै पहल गरेर सम्भव छैन, सरकार, स्थानीय निकाय, निजी सङ्घसंस्था र आम नागरिक सबै मिलेर सरसफाइमा ध्यान दिने हो भने पक्कै पनि बाग्मती आफ्नो पुरानो लय समात्नेछ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका बाग्मती नदीका यी तस्बिरहरु ।