देउवालाई प्रचण्डको फोन – रामसँग राम मिलाएर रामराज्य बन्न नदिने हराम को ?

 फागुन २८, २०७९ आइतबार १३:१८:२८ | मिलन तिमिल्सिना
unn.prixa.net

हेल्लो देउवाजी, अझै उठ्नुभएको छैन कि क्या हो ?

एकाबिहानै को बोल्नुभयो ? ए प्रचण्ड काम्रेड पो । हैन, अहिले नै किन उठ्नु । रामचन्द्रलाई जिताएर पठाइहालियो, अब काम के छ र छिटो उठ्नलाई । त्यसमाथि अस्ति रिजल्ट आउनेबित्तिकै तपाईँको देखासिकीमा रामचन्द्रलाई बेस्सरी अँगालो मार्ने भाको, ढाड सर्केर ओल्टिन पल्टिन पनि भाको छैन भन्या । आफूलाई यसो हात मिलाएजस्तो मात्रै गरेर टार्न मन थियो, तपाईँ जान्ने पल्टेर अगाडि सर्नुभो । तपाईँले नै अँगालो हालेपछि मैले हेरेर मात्रै बस्न मिलेन । त्यहाँमाथि माधवजी पनि पछिल्तिरबाट ताउरमाउर गर्न थाले । अनि अघि सरेर अँगालो मारेको, अलि बढी भएछ ढाडले दुःख पायो ।

मने तपाईँ पनि बढो अचम्मको मान्छे । ढाड सुम्सुम्याउँदै उठ्नुहोस् क्या । यहाँ तपाईँका रामचन्द्रलाई कुर्सीमा बस्न नभ्याउँदै षड्यन्त्र गर्न थालिसके । यतिबेलासम्म सुतेर हुन्छ ?

के को मेरा रामचन्द्र हुनु नि ? साँच्चै भन्ने हो भने त, मलाई कहाँ मन पर्छ र बाजे । अरु केही उपाय नभएपछि मन नभइनभइ पनि अगाडि सार्नुपरेको । अब त उनी तपाईँका, माधवजीका, उपेन्द्र, महन्थ हुँदै रविहरुका साझा रामचन्द्र । त्यसमाथि अब देशकै रामचन्द्र भैसके । अनि कसले के षड्यन्त्र गर्यो र ?

ल सुन्नुभएन र बाहिर घुम्न निस्कँदा सडक खाली गरायो, गाडी रोक्यो, मान्छेलाई दुःख दियो, जुन जोगी आए पनि कानै चिरेका भनेर मान्छेहरुले विरोध गरेका ?

हुन त उनी जोगी नै हुन् । पहिल्यै कि त वनबास कि त काशी पठाउनुपर्ने थियो । बाजेले उम्मेदवार हुँदा  तातो न छारोसँग म राष्ट्रपति भएर हिड्दा सडक खाली हुँदैन भनेर बोले । ? अहिले त्यै बोली गलापासो भो बाजेलाई । बाजे आफैले बाटो खाली गर्न त लाएनन् होला कि ! सेना प्रहरीले रोक्यो होला, उनलाई के को दोष ?

देउवाजी पनि बिहानबिहानै मजाक गर्नुहुन्छ क्या । रामचन्द्रजी निस्कँदा सडक खाली भएपछि उनैले गरेको भैहाल्यो नि । 

ठूला मान्छे हिँड्दा सडक खाली त भैहाल्छ नि । रामचन्द्रजी, तपाईँ, म, हामीजस्ता ठूला मान्छेहरु अरु भारेभुरे मान्छेजस्तो हो र जाममा बस्दै, हाई काढ्दै, धुवाँधुलो खाँदै हिँड्ने ? ठीक छ भण्डारीजीको विरोध गर्न पाइन्छ । तर देशमा रामराज्य ल्याउन हिँडेको मान्छेलाई विरोध गर्न त सुहाएन नि ?

रामराज्य नै बन्न नदिने भए भन्या । मने प्रतिक्रियावादीहरुले जालझेल, षड्यन्त्र गरेर हैरान पारे । बल्लबल्ल एउटा रामलाई राष्ट्रपति बनाइयो । हुन त एउटै राम हुँदा पनि अलिअलि रामराज्यको छनक मिलिसकेकै थियो । अर्को पनि राम पठाउँ भन्दा हरामहरु हुँदैन भन्छन् ।

तपाईँले त्यही उपेन्द्रजीको पार्टीका राम सहाय कि असहायको कुरा गर्नुभएको ?

अँ तिनै रामसहाय । पहिले त उपेन्द्रजीले अड्डी लिएर बस्दा मलाई पनि मन परेको थिएन । पछि यसो सोचेँ, नाममा राम छ । राष्ट्रपति पनि राम, उपराष्ट्रपति पनि राम । दुई दुईजना राम भएपछि त देशमा यसै रामराज्य हुन्छ । तपाईँ र मैले बेकारमा टाउको दुखाउनै पर्दैन । हुन त एउटै रामले पनि रामराज्य नहुने त होइन, तर दुईवटा राम भएजस्तो त हुँदैन नि ।

भनेपछि नाम चाहिँ राम पछाडि सहाय रहेछ, अब असहाय हुने भए हैन त । 

मने तपाईँ पनि ठट्टा मात्रै गरेर बस्नुहुन्छ । अलि सिरियस हुनुपर्यो क्या देउवाजी । संविधानको ‘र’ र ‘वा’ लाई पनि एकै ढङ्गले व्याख्या गर्न मिल्छ भन्नुहोस् त ? ‘र’ र ‘वा’ त फरक हुन्छ नि ।

खै मेरो नाम शेरबहादुरमा र छ, थर देउवामा वा छ । तैपनि मलाई फरक परेको छैन । नाममा र छ, थरमा वा छ, तै पनि मान्छे म एउटै हो करे ।

तपाईँको नाम र थर मिल्यो भन्दैमा हुन्छ ? मेरो पछिल्तिर प्रचण्डमा र छ, तपाईँको पछिल्तिर देउवामा वा छ ? तपाईँ र म फरक भएनौ ?

मलाई त कहिलेकाहीँ तपाईँ र म पनि उस्तैउस्तै लाग्छ । 

मलाई पनि तपाईँ र म उस्तैउस्तै लाग्छ नि । तर संविधानमा ‘र’ र ‘वा’ उस्तै हैन बुझ्नुभयो । राममा राम जोडेर देशलाई रामराज्य बनाउन हरामहरुले चलखेल गर्न थाले । त्यसैले गम्भीर हुनुपर्यो । हरामहरुको पहिचान गर्नुपर्यो । हरामहरु अझै सल्बलाउन थाले भने रामसहाय मात्रै असहाय हुने होइन, भोलिपर्सि तपाईँ र म पनि असहाय हुन के बेर ?

मलाई त रामसहाय भन्दा पनि उपेन्द्रजी पो असहाय होलान् जस्तो लाग्यो । यति साह्रो हत्ते गर्दा पनि सांसद हुन नपाउलान् जस्तो छ । बिचरा पाँच वर्ष कसरी कटाउलान् ? आफूलाई बाजे माथि पुगेको देखेर र प्रधानमन्त्रीको पदबाट दुई महिना बाहिर बस्दा समेत उकुसमुकुस भैसक्यो ।

हेर्नुहोस् है देउवाजी तपाईँ फेरि अरु हरामहरुले जस्तो मलाई नझस्काउनुहोस् नि, भन्देको छु !

अन्तिम अपडेट: बैशाख ८, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया