गुल्मीमा पासाेमा अल्झिएकाे अवस्थामा चितुवा मृत फेला

 फागुन २८, २०७९ आइतबार १८:४९:५८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा पासोमा अल्झिएको अवस्थामा चितुवा मृत फेला परेको छ । छत्रकोट गाउँपालिका २ काे मनबागमा आइतबार भाले चितुवा पासोमा अल्झिएको अवस्थामा मृत फेला परेको हो । 

स्थानीय धनबहादुर घर्तीको जग्गामा खर्यान छेउको सडक नजिकै चितुवा फेला परेको हो । चार मिटरभन्दा बढी लम्बाई र ४५ किलो तौल रहेको चितुवा मृत अवस्था फेला परेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । 

बिहान पासो चुँडाएर भाग्ने क्रममा घाइते अवस्थामा रहेको चितुवाले आक्रमण गर्दा स्थानीय ४० वर्षीय केशव पालुङ्गे घाइते हुनुभएको थियाे । स्थानीयले बिहान चितुवा फेला परेको जानकारी दिएपछि डिभिजन वन कार्यालय तम्घासबाट सहायक वन अधिकृत मुना शर्माको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । 

मृत अवस्थामा भेटिएको चितुवालाई स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा मुचुल्का गरी डिभिजन वन कार्यालयमा ल्याई कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ ।

गएकाे वर्ष छत्रकोट गाउँपालिकाको लुम्छामा पनि यसैगरी पासोमा अल्झिएकाे अवस्थामा चितुवा मृत फेला परेको थियो । केही महिनाअघि पनि गुल्मीदरबार गाउँपालिकामा घाइते अवस्थामा फेला परेको चितुवालाई उद्धार गरी रेसुङ्गा संरक्षित वन क्षेत्रमा लगेर छाडिएको डिभिजन वन कार्यालय गुल्मीका निमित्त डिभिजन वन अधिकृत रामकुमार चौधरीले जानकारी दिनुभएको छ । 

गुल्मीमा पछिल्लो समय चितुवाले मानिस तथा गाईवस्तुलाई आक्रमण गर्ने क्रम बढ्दै जान थालेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया