आज राति काेशी र गण्डकीका एक/दुई ठाउँमा मेघगर्जनसहित वर्षाकाे सम्भावना

 फागुन २९, २०७९ सोमबार १८:१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा अहिले वर्षा भइरहेको छ । अहिले देशभरकै मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको महाशाखाका मौसमविद् गोविन्दकुमार झाले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो तीन घण्टामा कीर्तिपुर केन्द्रमा ११ दशमलव चार मिलिमिटर वर्षा मापन भएको छ भने खुमलटार केन्द्रमा शून्य दशमलव ६ मिलिमिटर वर्षा भएको छ । अहिले वर्षा गराउने प्रणाली पूर्वी क्षेत्रतिर सरेकाले केहीबेरमा रोकिने मौसमविद् झाले बताउनुभयो ।

यसैबीच आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै भोलि मङ्गलवार दिउँसो पनि उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि मौसमविद् झाले आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया