बुबा–आमाकाे सम्झनामा भवन निर्माण गरेर विद्यालयलाई हस्तान्तरण

 फागुन २९, २०७९ सोमबार १९:४१:१९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको दूधपोखरी गाउँपालिका–२ विचौरका दवाडी दाजुभाइले आफ्ना बुबा–आमाकाे सम्झनामा चार काेठे पक्की भवन निर्माण गरेर स्थानीय बागीश्वरी माविलाई हस्तान्तरण गर्नुभएकाे छ । विचाैरका कालिका दवाडी र मुक्ति दवाडीले विद्यालयका संस्थापकसमेत रहनुभएका बुबा स्वर्गीय चुडामणि र आमा रुकमिणाकाे सम्झनामा भवन निर्माण गर्नुभएकाे हाे । 

विद्यालयको माग र आवश्यकतालाई मध्यनजर गर्दै बुवा–आमाकाे सम्झनामा 'चुडामणि दवाडी, रुकमिणा दवाडी स्मृति भवन कम्प्युटर प्रयोगशाला' निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको कान्छा छोरा मुक्तिले बताउनुभयो । विद्यार्थीको पठनपाठनमा सहज हुने उद्देश्यले बुबा–आमाकाे सम्झनामा भवन निर्माण गरेकाे  विद्यालयलाई हस्तान्तरण गरिएको दवाडी दम्पत्तिका माइला छोरा कालिकाले बताउनुभयो ।

भवन निर्माण लागतबारे उहाँहरूले खुलाउन चाहनुभएन । ‘सहयोग, दानको मूल्य हुँदैन । धन भएर होइन मनले सहयोग गरिएको हो’, माइला छाेरा कालिकाले भन्नुभयो, ‘पिता पुर्खाको सम्झना, विद्यालयको माग र सहजताका लागि भवन निर्माण गरिएको हो । यस ठाउँको माटोको ज्यादै माया लाग्छ । एक पैसा पनि अरूबाट नलिई भवन बनाएर हस्तान्तरण गरिएको छ । यो सबैको साझा सम्पत्ति हो । यसको संरक्षण र उपयोगको जिम्मा विद्यालय परिवार र सबै स्थानीयलाई सुम्पेका छौँ ।’

नवनिर्मित भवनको साेमवार नेपाली कांग्रेस लमजुङका सभापति एवम् गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङले उद्घाटन गर्नुभयाे । गुरुङले विद्यार्थीहरूको सहज पठनपाठनका लागि भवन निर्माण भएकाेमा प्रशंसा गर्दै सामाजिक सेवाका क्षेत्रमा सबै जुट्नपर्नेमा जोड दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक हरिनारायण दवाडीले विद्यालयको आवश्यकताअनुसार नै दवाडी परिवारले भवन निर्माण गरेकाे र यसप्रति विद्यालय परिवार खुसी रहेको उल्लेख गर्नुभयो । भवन निर्माणमा झन्डै ४० लाख रुपैयाँ खर्च भएको विद्यालयले जनाएको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद दवाडीका अनुसार २००६ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । अहिले यहाँ तीन सय ८१ जना विद्यार्थी अध्यनरत छन् ।

चार कोठे भवनमा तल्लो दुई कोठालाई कक्षाकोठाकै रूपमा प्रयाेग गरिने र माथिल्लो दुई कोठालाई कम्प्युटर ल्याबको रूपमा प्रयाेग गर्ने सहायक प्रधानाध्यापक दवाडीले बताउनुभयो । दवाडी परिवारको सहयोगप्रति स्थानीयले प्रशंसा गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया