डरै डर बोकेर परदेश लाग्दाको त्यो क्षण

 फागुन ३०, २०७९ मंगलबार १५:१०:५५ | नारायण कोइराला
unn.prixa.net

आजभन्दा झण्डै १८ वर्षअघिको कुरा हो । मलाई दिल्लीबाट नेपाल आएर फेरि मुम्बई जानु थियो । किनकि विदेश जाने जहाजको टिकट मुम्बईबाट काटिएको थियो ।

एक पटक घरमा परिवारलाई नभेटी परदेश कसरी जानु । बिदा र आर्शिवाद लिन मलाई जसरी पनि घर आउनु थियो । तर भयो के भने दिल्लीबाट गोरखपुर हुँदै सुनौली नाकाबाट नेपाल प्रवेश गर्न खोज्दा पो थाहा भयो माओवादीको आन्दोलनले नेपाल बन्द रहेछ । त्यो समय कति बेला के हुन्छ भन्ने भर नै नहुने ।

सुनौली बोर्डरबाट नेपाल आउँदा सडक सुनसान थियो । रिक्सा र साइकल मात्र चलिरहेका थिए । यत्रो सहरमा गाडी नै नचलेपछि मान्छेको चाप सडक भरि थियो । सार्वजनिक गाडी त खुल्छ या खुल्दैन भन्ने अत्तोपत्तो नै थिएन । एउटा गाडी मंहङ्गो भाडामा जसोतसो मिल्यो ।

जति भए पनि भाडा तिरेर दुई जना बुटवलसम्म जाने निधो गरियो । तर असाध्यै गाह्रो भयो । बाटोको चोकै पिच्छे चेक गरियो । मानिसहरू असिन पसिन हुँदै सामान बोकेर हिँडिरहेका थिए । पसिनाले निथ्रुक्क रुझेका थिए । रिक्सावाला सकिनसकी रिक्सा तान्दै थिए । यी सबै दृश्य देख्दा टिठ लाग्दो थियो । तर के गर्नु सबैका लागि बाध्यता थियो । 

म बुटवल आउँदा झमक्क साँझ परिसकेको थियो । बुटवलबाट अघि बढ्न सक्ने अवस्था थिएन । दिउँसै हिँड्न त डर लाग्ने परिस्थितिमा राति हिँड्ने त कुरै थिएन । त्यसैले बुटवलमै रात बसियो । 

भोलिपल्ट पनि बुटवलबाट पाल्पासम्म हिँडेर नै यात्रा गर्नु पर्ने भयो । किनकि पहाडको बाटोमा रिक्सा पाउने अवस्था थिएन । मजस्तै थुप्रै मानिसहरू आफ्नो गन्तव्यमा पुग्न पैदल नै हिँडिरहेका थिए । तर बाटो हिँड्न पनि अवस्था डर मर्दो थियो । माथि तिरबाट ढुङ्गा पल्टाइदिन्छन् रे भनिन्थ्यो । अलिक भिरालो बाटो डरै डरमा काटियो ।

बाटोमा कहीँ कतै फाट्ट फुट्ट होटलहरु खुलेको भेटियो । तीनै होटलमा भेटेका खानेकुराले पेट भरियो । पहाडको बाटो हिँड्नलाई सोचेँ जस्तो सजिलो पनि थिएन । धेरै समयपछि हिँड्नु पर्दा खुट्टा दुखेर जुत्ता हातमा लिएर हिँड्नु पर्ने अवस्था थियो । झमक्क रात पर्ने बेलामा बल्ल तल्ल घर आइपुगियो ।

घर पुग्दा सबैको अनुहारमा चिन्ता थियो । सकुशल घर पुगेकोमा पुगेकोमा मन खुसीले गदगद भयो । घरमा सबैका आँखाबाट खुसीका आँसु झरे । मानिसहरू साँझ पर्दा नपर्दै खाना खाएर ढोका बन्द गर्नु पर्ने अवस्था थियो । हामी पनि त्यसै गर्‍यौ ।

आमाबाबा यस्तो बेला नआएको भए पनि हुन्थ्यो भनेर चिन्ता गर्नुभयो । यस्तो अवस्थामा मलाई पनि आउने मन थिएन । तर मुम्बईबाट विदेश जाने प्रक्रिया सुरु भएकाले मेरो मनले परिवार नभेटी परदेशिन दिएन । परदेशको यात्रा के थाहा । कति समयपछि घर आउने मेसो मिल्ने हो नमिल्ने हो । धेरै बेरसम्म यस्तै सुख दुःखका कुरा गर्दै बसियो । 

दिल्लीबाट त मुटुमा हात राख्दै घर आएको थिएँ । तर अब डर चाहिँ कसरी सुनौली बोर्डरसम्म पुग्ने भन्ने थियो । सडक सुनसान थियो । रातीमा गोला बारुदको आवाज मात्र सुनिन्थ्यो । तर मेरो त भिसा लागिसकेको थियो र टिकट पनि भइसकेको थियो । मलाई जसरी पनि परदेश पुग्नु थियो । किनकि मलाई बन्दुक बोकेर देश बदल्न हिँड्नु थिएन । आफ्नो परिवारको लागि दुई चार पैसा कमाएर केही गरौँ भन्ने चाहना र सपना मनमा थियो ।

देशमै केही गरौँ न त भन्ने अवस्था नै थिएन । भएको काम र व्यवसाय पनि कुन बेला बन्द हुने हो यकिन थिएन । म हिँडेरै पाल्पादेखि सुनौली बोर्डरसम्म पुगेँ । बोर्डर पुगेपछि त डर कम भयो । अब जीवनले नयाँ बाटो समात्ला भन्ने आत्मविश्वास भयो । तर त्यो क्षण अहिले सम्झँदा पनि मन डराउँछ ।

कसरी चाहिँ मैले त्यो जोखिम उठाए होला जस्तो लाग्छ । कुनै बेला उनीहरूसँगै डराएर परदेश गएको म आज उनीहरूकै सरकारसँग देशमै केही हुन्छ कि भन्ने आशामा गर्छु । तर जुन जोगी आए पनि कानै चिरेको भनेजस्तै हाम्रो देशका नेता र शक्ति केन्द्रहरूको तौरतरिका देखेर म आफैँ छक्क पर्छु ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया