गुल्मीकाे रेसुङ्गामा धेरैजसाे मासु पसल आवश्यक मापदण्ड विपरीत सञ्चालन

 फागुन ३०, २०७९ मंगलबार १७:११:५३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा धेरैजसाे मासु पसल आवश्यक मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिनसम्म गरिएको मासु पसलको छड्के निरीक्षण अनुगमनकाे क्रममा त्यस्तो तथ्य फेला परेको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको संयोजकत्वमा रेसुङ्गा नगरपालिका वडा नम्बर १ र वडा नम्बर २ मा दुई दर्जनभन्दा बढी मासु पसलको स्थलगत अनुगमन गरिएको थियो । अनुगमनको क्रममा धेरैजसाे मासु पसल पालिका र सरकारी निकायहरूमा आधिकारिक दर्ता र नियमित नवीकरण नभएको भेटिएको छ ।

त्यसैगरी स्थलगत निरीक्षणको क्रममा मासु, तरकारी, दूध तथा फलफूलहरू एकै ठाउँमा राखेर बिक्री गर्ने गरेको, मासु बिक्री गर्ने ठाउँमा सफा नगरिएको, जाली तथा सिसा नलगाई मासुलाई खुला राख्ने गरेको भेटिएको थियो । २३ वटा सूचकाङ्कलाई आधार मानेर गरिएको निरीक्षणको क्रममा मापदण्ड विपरीत खोलिएका मासु पसललाई पहिलो पटकलाई सुधार गर्नका लागि तत्कालै निर्देशन दिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख एवम् अनुगमन समिति संयोजक डाक्टर भरत काफ्ले जानकारी दिनुभएको छ । 

मासु पसल सुधारका लागि आवश्यक मापदण्ड कायम गर्न निरीक्षण अनुगमनको क्रममा संलग्न प्रतिवेदनका सुझावहरूलाई कार्यान्वयन गर्न सम्बन्धित निकायमा आग्रह गर्ने कार्यालय प्रमुख काफ्लेले बताउनुभयो । अनुगमन टोलीले मासु व्यवसायीहरूलाई पसल सञ्चालन गर्दा आवश्यक न्यूनतम मापदण्डको बारेमा तत्कालै अभिमुखीकरण गराई अनिवार्यरूपमा निर्देशन पालना गर्न सुझाव दिएको छ । स्थलगत अनुगमनको क्रममा टोलीले उपभोक्ताहरूको स्वास्थ्यमाथि खेलबाड नगर्नसमेत उनीहरूलाई आग्रह गरेको छ । 

भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मीको संयोजकत्वमा गरिएको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु, करदाता सेवा कार्यालय, नगरपालिका, उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घ, मासु व्यवसायी समितिलगायतको प्रतिनिधित्व रहेको थियो । गुल्मीको रेसुङ्गा नगरपालिकामा एक सय वटाभन्दा धेरै मासु पसल रहेकाे छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया