फ्रेन्ड्सले जावलाखेललाई हरायो, सङ्कटा र चर्च ब्वाइजले बराबरी खेले

 फागुन ३०, २०७९ मंगलबार १७:४५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ ।

दशरथ रङ्गशालामा मङ्गलवार भएको खेलमा फ्रेन्ड्सले जावलाखेललाई २–१ गोल अन्तरले हरायो । फ्रेन्ड्सका लागि राफिक एमिनु र प्रकास बुढाथोकीले गोल गरे । जावलाखेलका फोडे फोफानाले गोल गरे । फ्रेन्ड्सले ४ खेलमा ४ अङ्क जोडेको छ, जावलाखेलको ७ अङ्क छ ।

आजै एन्फा मैदानमा भएको खेलमा चर्च ब्वाइज युनाइटेड र सङ्कटा क्लबले गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीले केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । चर्च ब्वाइज १० अङ्कसहित शीर्ष स्थानमा र सङ्कटा ५ अङ्कसहित आठौँ स्थानमा छ ।

अहिले मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच खेल भइरहेको छ । साविक विजेता मच्छिन्द्र ३ खेलमा १ अङ्कका साथ १३ औँ स्थानमा छ भने पुलिस ३ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ । 

यस सिजनको ए डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ वटा खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया