कालीकाेट : शुभकालीकामा २० वर्ष उमेर पुगेपछि विवाह गर्नेलाई १० हजार रुपैयाँ

 चैत २, २०७९ बिहिबार १३:४०:५२ | रासस
unn.prixa.net

कालीकाेट - कालीकोटको शुभकालीका गाउँपालिका–७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही १० हजार रुपैयाँ पुरस्कार दिने भएकाे छ । गाउँपालिकाले चैत १ गते हिजाेदेखि लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई १० हजार रुपैयाँ दिने निर्णय गरेको हो । 

बालविवाहका घटना बढ्दै जान थालेकाले त्यसलाई रोकथाम गर्ने उद्देश्यले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई पुरस्कार दिने निर्णय गरिएको वडाध्यक्ष प्रेमबहादुर शाहीले बताउनुभयो ।

उहाँले वडाका कसैले विवाह गरेमा वडा कार्यालयको सिफारिस लिनुपर्ने भन्दै बालविवाह रोक्न यस्तो नीति लिइएको बताउनुभयो । वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर खुलेको प्रमाणपत्रसहित वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनेको वडाध्यक्ष शाहीले जानकारी दिनुभयो । 'कसैले सिफारिस नलिइ विवाह गरेमा वडाबाट प्रदान गरिने सबै सेवा सुविधा बन्द गर्ने निर्णय भएको छ', उहाँले भन्नुभयो ।

उमेर नपुगेको पाइएमा कानुनअनुसार कारबाहीका लागि वडाले नियम बनाउन लागेको गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले बताउनुभयो । 'यसभन्दा अघि शुभकालीका–४ ले वडाको सिफारिसविना विवाह गर्न नपाइने र गरिहालेमा केही सेवाबाट वञ्चित गर्ने निर्णय गरेको थियो ।' उहाँले भन्नुभयो, 'अब यो नियम पालिकाभरी लागू हुनेगरी बनाउँदै छौँ ।'

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया