रामसहाय यादव : शिक्षकदेखि उपराष्ट्रपतिसम्म

 चैत ३, २०७९ शुक्रबार १७:४३:२७ | रासस
unn.prixa.net

काठमाण्डाै – देशकाे तेस्रो उपराष्ट्रपतिका लागि शुक्रवार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता एवम् पूर्वमन्त्री रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ ।

यादवको जन्म विसं २०२७ साउन ९ गते बुवा स्व. प्रसाद राय यादव र आमा स्व. सिहवादेवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उहाँका दुई दाजुभाइ तथा तीन दिदीबहिनी हुनुहुन्छ । साथै श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

उहाँ विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव हुनुभएको थियो । यादव गएकाे मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको चुनावमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो । उहाँ यसअघि २०७४ सालमा पनि बारा–२ बाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

मधेस आन्दोलनका क्रममा दरिलो पहिचान बनाउनुभएका उहाँ राजनीतिक जीवनअघि बाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेसामा समर्पित हुनुहुन्थ्यो । बारा कलैयामा रहेकाे श्री पन्ना देवी कन्या माविमा उहाँ विज्ञान र गणित विषयको शिक्षक हुनुहुन्थ्यो ।

भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गर्नुभएका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो ।

नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गर्नुभएका उहाँ उच्च शिक्षा लिई भारतको सीतामढीबाट बीएससी अध्ययन गरी फर्किँदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो । त्यस समयमा तराई मधेसका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उहाँ २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गर्नुभएको हो ।

त्यस पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि राजविराज महाधिवेशनमा नेपाल सद्भावना पार्टी विभाजनको विरोधमा आनन्दी देवीको नेतृत्वमा पार्टी एकताका लागि आमरण अनशनमा बस्ने यादव पहिलो नेता हुनुहुन्छ ।

राजनीतिका क्रममा उहाँको भेट उपेन्द्र यादवसँग भएपछि उहाँ २०५९ सालमा मधेसी जनाधिकार फोरममा आबद्ध हुनुभएको हो । त्यसपछि उहाँ २०६४ सालमा पहिलो संविधान सभामा समानुपातिक तर्फबाट सदस्य हुनुभएको थियो भने विसं २०६५ मा उहाँ पार्टी महासचिव हुनुभयो । यादव स्वच्छ तथा इमानदार छविका नेता मानिनुहुन्छ ।

उहाँ विसं २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य हुनुभएको थियो । विसं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री हुनुभएका उहाँ अहिले जनता समाजवादी पार्टीको संसदीय दलको नेताको भूमिकामा समेत हुनुहुन्छ ।

पार्टी तथा सरकारको प्रतिनिधि भई उहाँले अहिलेसम्म संयुक्त राज्य अमेरिका, पोल्यान्ड, चीन, बेलायत, बेल्जियम, यूएईलगायत देशको भ्रमण गरिसक्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया