लेकै फुल्यो लालीगुराँस... (फोटोफिचर)

 चैत ४, २०७९ शनिबार १३:५१:१५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – गुराँसको रङ्ग ओढेर दुलही झैँ सिंगारिएका छन् यतिबेला लेकाली वन । वसन्तको आगमनसँगै पलाएका पालुवा र त्यसैमाथि फुलेका गुराँसले पहाडको क्यानभासलाई रङ्गीन तुल्याएको छ । 

हिमाली जिल्ला म्याग्दीको वनपाखा पनि गुराँसमय बनेका छन् । फागुनको आगमनसँगै फुल्न थालेका गुराँस जेठसम्म ढकमक्क फुल्ने गर्छन् । बेनी नगरपालिकाको माथिल्लो क्षेत्रदेखि अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिकाको वन क्षेत्र लालीमय बनेका छन् । 

म्याग्दीका वनमा रातो, सेतो, गुलाफी र कलेजी रङका गुराँसहरु फुल्ने गर्दछन् । गण्डकी प्रदेशमा गुराँसको राजधानी भनेर म्याग्दीको घोडेपानी–पुनहिल र राम्चे क्षेत्रलाई चिनिन्छ । म्याग्दीमा पाइने १० प्रकारका  गुराँसमध्ये यहाँको घोडेपानी क्षेत्रमा मात्रै विभिन्न ८ प्रजातिका गुराँसहरु फुल्ने गरेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दी जिल्लामा अहिले कुल ३ सय १४ वटा सामुदायिक वनहरु रहेकोमा सबै वन क्षेत्रमा गुराँस प्रजातिका बोटविरुवा पाइने गरेका छन् । 

वनपाखामा गुराँस फुल्न थालेसँगै पर्यटकहरुको समेत चहलपहल बढेको छ । इलाका प्रहरी कार्यालय घोरेपानीका अनुसार पुनहिल–घोडेपानी र महरेडाँडा क्षेत्रमा दैनिक झण्डै ४० देखि ५० स्वदेशी र १ सय जनाको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । 

वसन्त ऋतुमा मनै लोभ्याउने गरी ढकमक्कै फुल्ने लालीगुराँसको साथैमा टाँसिएर फोटो, भिडियो खिच्न र सेल्फी लिन पर्यटकहरु पुग्ने गर्दछन् । वनपाखामा फुलेको लालीगुराँसलाई पृष्ठभूमीमा पारेर मोबाइलमा सेल्फी खिचेर रमाउन पाइने भएपछि म्याग्दीको घोडेपानी पुनहिल क्षेत्रमा पर्यटकहरुको आकर्षण बढेको छ । 

तर पछिल्लो समय जलवायु परिवर्तनको असर गुराँसमा पनि पर्न थालेको छ । डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाका अनुसार पछिल्लो समय जलवायु परिवर्तनका कारण समयभन्दा अगावै गुराँस फुल्न थालेका छन् । जलवायुको असर अन्य बिरुवाहरुमा पनि परेको छ । 

यसपटक हिउँदको समयमा वर्षा र हिमपात नहुँदा विगतको तुलनामा गुराँस कम फुलेको स्थानीयको अनुमान छ ।

वन तथा भू संरक्षण विभागका अनुसार नेपालका ४३ जिल्लाका वन जङ्गलमा कम्तीमा ३१ प्रजातिका गुराँसहरु पाइन्छन् । त्यसैमध्येको लालिगुराँस नेपालको राष्ट्रिय फूल हो । नेपालमा सबैभन्दा ठूलो लालीगुराँसको जङ्गल भनेर संखुवासभा, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सङ्गमस्थलमा पर्ने तिनजुरे–मिल्के–जलजले (टिएमजे) संरक्षित क्षेत्रलाई मानिएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया