नेपाली सेनाका हिमाल टमाटाले जिते तेस्रो लिगलिगे साइकल दौडको उपाधि

 चैत ४, २०७९ शनिबार १५:९:० | किरण लोहनी
unn.prixa.net

गाेरखा – लिगलिग भिलेज स्पोर्टसको आयोजनामा भएको तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका हिमाल टमाटाले जित्नुभएको छ । ५३ किलोमिटर दुरी दुई घण्टा २४ मिनेट २७ सेकेण्डमा पूरा गर्दै उहाँ  बिजेता बन्नुभएको हो । 

दुई घण्टा २४ मिनेट ४१ सेकेण्डमा निर्धारित दुरी पार गर्दै काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो हुनुभयो भने दुई घण्टा २४ मिनेट ४६ सेकेण्डमा दुरी पुरा गर्दै काठमाण्डौका कुमार तामाङ तेस्रो हुनुभयो । लक्ष्मण मल्ल दुई घण्टा २५ मिनेट ४१ सेकेण्डमा दुरी पूरा गर्दै चौँथो हुँदा  दुई घण्टा २५ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै मानबहादुर थापा मगर पाँचौँ हुनुभयो ।

पहिलो हुनेले ७५ हजार, दोस्रोले  ५० हजार, तेस्रोले ३० हजार, चौथोले १५ हजार र पाँचौ हुनेले ७ हजार पाँच सय रुपैयाँसहित मेडल र प्रमाणपत्र पाएका आयोजक लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो ।

पुरुष मास्टरतर्फ दुई घण्टा ३२ मिनेट चार सेकेण्डमा ५३ किलोमिटर दुरी पार गर्दै हर्क लामा विजेता बन्नुभयो । दुई घण्टा ४९ मिनेट ५५ सेकेण्डमा दुरी पार गर्दै बिकास महर्जन दोस्रो तथा देबबहादुर बोहोरा दुई घण्टा ५२ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै तेस्रो बन्नुभयो। यो समुहमा प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । 

विजेताहरुलाई गण्डकी प्रदेश सभाका सदस्य एवं प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले पुरस्कार बितरण गर्नुभएको थियो। प्रतियोगिताको विभिन्न विधामा दुई विदेशीसहित ३९ जना सहभागी भएका लिगलिग भिलेज स्पोर्टसका निवर्तमान अध्यक्ष सञ्जिव रानाले बताउनुभयो । राष्ट्रिय खेलकुद परिषदबाट अनुमति लिई अन्तर्राष्ट्रिय मापदण्डमा रहेर प्रतियोगिता सञ्चालन गरिएको रानाले बताउनुभयो । 

लिगलिगकोटबाट सुरु भएको साइकल दौड आँपपिपल भञ्ज्याङ, हर्मिभञ्ज्याङ, बयापानी, मकनडाँडा, थापागाउँ, आँपपिपल अस्पताल, पाथीभरा, गुन्टार, मिर्तिखोला, भण्डारथोक, ओख्ले, लमजुङ गरमवेशी, घर्तीगाउँ, ठूलो बगैँचा, चेपेघाट, पालुङटार हवाईग्राउण्ड, तालपोखरी, राधाकृष्ण मन्दिर, बाह्रपिर्के, हात्तीगौडा, लुइँटेल, बयाडाँडा हुदै मैबलबाट लिगलिगकोटसम्मको ५३ किलोमिटर रहेको थियो । 

प्रतियोगितालाई तीन फरक भागमा विभाजन गरेर आयोजना गरिएको थियो । पुरुष कुलीन, पुरुष मास्टर र स्थानीय गरी तीन विधा तोकिए पनि स्थानीय भने सहभागी भएनन् । 

लिगलिगकोटमा रहेको राष्ट्रिय झण्डा भएको स्थानबाट सुरु भएर पुनः सोही स्थानमा फर्किएर दौड कार्यक्रम पूरा भएको थियो । लिगलिग भिलेज स्पोर्टसका आयोजना पालुङटार नगरपालिका, गोरखा नगरपालिका साथै प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले प्रायोजन गरेको छ भने प्रवद्र्धकमा रुपमा पर्यटन बोर्ड रहेको छ । प्राविधिक सहयोग नेपाल साइक्लिङ संघ र राष्ट्रिय खेलकुद परिषदले गरेको थियो । 

प्रतियोगिता सञ्चालनका लागि ३० लाख रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । साइकल दौडसँगै बिभिन्न सांस्कृतीक कार्यक्रम पनि भएको थियो । लोक गायक चिज गुरुङ र अस्मिता डल्लाकोटी लगायत स्थानीय कलाकारको प्रस्तुति रहेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया