नेपालको सार्वजनिक ऋण २० खर्ब ७९ अर्ब रुपैयाँ नाघ्यो,  ८ महिनामा ८० अर्ब रुपैयाँ भुक्तानी

 चैत ४, २०७९ शनिबार १५:१८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको सार्वजनिक ऋण बढेर २० खर्ब ७९ अर्ब रुपैयाँ भन्दा धेरै पुगेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा नेपालको सार्वजनिक ऋण ३ दशमलव ३९ प्रतिशतले बढेर २० खर्ब ७९ अर्ब ७२ करोड रुपैयाँ पुगेको हो ।

साउनदेखि फागुनसम्म सरकारले ८५ अर्ब रुपैयाँ आन्तरिक र ६२ अर्ब रुपैयाँ वैदेशिक गरी १ खर्ब ४७ अर्ब रुपैयाँ ऋण लिएको छ ।  यस्तै ८ महिनामा सरकारले ६२ अर्ब आन्तरिक ऋण र १८ अर्ब बाह्य ऋण गरि ८० अर्ब रुपैयाँ चुक्ता गरेको छ । ८ महिनामा १ खर्ब ४७ अर्ब रुपैयाँ ऋण लिँदा पनि ८० अर्ब रुपैयाँ चुक्ता गरेकाले सरकारको ऋण ६८ अर्ब रुपैयाँले मात्रै बढेको हो ।

कुल ऋणमध्ये १० खर्ब ९ अर्ब ९३ करोड रुपैयाँ आन्तरिक र १० खर्ब ६९ अर्ब ७८ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ । चालु आर्थिक वर्षको बजेट समीक्षामार्फत सरकारले १ खर्ब ७० अर्ब रुपैयाँ वैदेशिक र २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ ।

सार्वजनिक ऋण वर्षेनी बढिरहँदा यसको सहि उपयोग नभएको र कतिपय अवस्थामा ऋण लिएर चालु खर्च समेत गरिरहेको भनेर सरकारको आलोचना हुँदै आएको छ । नेपालको ऋण कुल गाह्रस्थ उत्पादनको ४१ प्रतिशत भन्दा  धेरै पुगेको भन्दै अर्थ विज्ञहरुले चिन्ता जनाउन थालेका छन् ।

अर्थविद् डिल्लिराज खनालले सरकारले ऋण थपिरहने र ऋणको सदुपयोग नगर्दा तथा पुँजी निर्माण बाहेकका काममा खर्च गर्दा दीर्घकालीन रुपमा ठूलो संकट आउनसक्ने चेतावनी दिनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • मेघ राज दाहाल

    March 18, 2023, 6:12 p.m.

    एकातिर देशलाई ऋणको भार बढेको छ अर्को तिर ऋण लिएर विभिन्न शिर्षकमा लगानी गरेको पैसा ठगी गर्ने चलन घटेको छैन होला । रकम ठगी गर्नेबाट कति रकम उठाएर राज्यको ढिकुटीमा फिर्ता भयो त त्यो कहिले पनि जानकारीमा आउँदैन । हुँदाहुँदै कर्मचारीलाई तलब समेत समयमा दिन छाडिसक्यो । राष्ट्रिय परिचय-पत्र तथा पञ्जिकरण विभागले अर्थले रोक्का गरेको बहाना बनाउँदै पौष देखि विभिन्न जिल्लामा खटिएका विवरण दर्ता अपरेटरलाई पारिश्रमिक नदिँदा कर्मचारीको विजोक भएको छ ।दुईछाक खान पनि घरबाट पैसा खोजेर पठाईदिनु भन्नुपर्ने बाध्यता भएको छ । देश कहिले साँच्चिकै प्रगतीमा लम्किन्छ खै

  •  0 Reply

तपाईको प्रतिक्रिया