आर्थिक सङ्कट समाधानका लागि हामी सबै एकै ठाउँमा उभिनुकाे विक...
चैत १२, २०७९ आइतबार
काठमाण्डाै – वरिष्ठ कलाकार नीर शाहले कलाकार, कलाकार संघ र नेपाली समाजबीचको त्रिकोणात्मक सम्बन्ध नराम्रो बन्दै गइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।
शनिवार काठमाण्डौमा जारी नेपाल चलचित्र कलाकार संघको १९ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलाकारहरु समाजमा आफ्नो गरिमामय उपस्थिति जनाउन कलाकार, कलाकार संघ र नेपाली समाजबीचको सम्बन्धका कारण सक्षम भए पनि बिस्तारै सबैले आफ्नो भूमिका बिर्सिंदै गएको बताउनु भयो । उहाँले कलाकार, कलाकार संघ र समाजबीच पछिल्लो समय दरार उत्पन्न भइरहेको भन्दै सबै मिलेर यसलाई समाधान गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाली चलचित्रका कलाकारहरु समाजमा आफ्नो गरिमामय उपस्थिति जनाउन यसकारण सक्षम भएका हुन्, त्यसको पछाडि त्रिकोणात्मक सम्बन्धले काम गरेको थियो । कलाकार, कलाकार संघ र नेपाली समाज नै त्रिकोणात्मक सम्बन्ध हुनुपर्छ । जति यसमा त्रिकोणात्मक सम्बन्ध हुन्छ, त्यति धेरै राम्रो काम गर्न सकिन्छ । पछिल्लो समय यसमा केही दरार देखिएको छ । त्रिकोणात्मक सम्बन्धलाई यथासक्दो ढंगले अघि बढाउन सक्नुपर्छ ।’
त्यस्तै चलचित्र निर्माता संघका अध्यक्ष एवं नेपाल चलचित्र कलाकार संघका निःवर्तमान अध्यक्ष नवल खड्काले राष्ट्रिय चलचित्र नीतिको कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले चलचित्र सम्बन्धी कानून बनाउन नसकेको भन्दै आपत्ति जनाउनु भयो ।
त्यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अहिलेको नेतृत्वका लागि दाबेदारहरु कुर्सीका लागि मात्रै आएको आरोप लगाउनु भयो । उहाँले नयाँ आउने नेतृत्वलाई आफ्नो अभाव खड्किन नदिनेगरी काम गरेर देखाउन आग्रह गर्नुभयो ।