पाेखरामा कलाकार 'वात्स्यायन'लाई नागरिक अभिनन्दन

 चैत ४, २०७९ शनिबार १७:१४:४३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार रथारोहणसहित नागरिक अभिनन्दन गरिएकाे छ । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा एक दर्जन भन्दा बढी संस्थाहरुले कलाकार वात्स्यायनको सम्मानमा रथारोहणसहित नागरिक अभिनन्दन गरेका हुन् । वात्स्यायन चर्चित कार्टुनिस्ट तथा चित्रकार हुनुहुन्छ ।

वात्स्यायन निवास नदीपुरदेखि सुरु भएको रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्षमा पुगेको थियो । ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गरेकाे दिन पारेर बरालको अभिनन्दन गरिएको हो । 

अभिनन्दन कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कलाकार बरालको जीवनीबारे जानकारी दिदै बरालले वात्स्यायनका नाममार्फत व्यङ्ग्यचित्र माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यङ्ग्यचित्रकारितामा सर्वोच्च शिखरका रुपमा आफूलाई उभ्याएको बताए । 

वि. स. १९९९ चैत ५ मा आर्बा (हाल पोखरा-१३) मा जन्मिनुभएका बराल ८० वर्ष पूरा हुनुभएकाे छ । नेपाली कला क्षेत्रमा लामो समय योगदान पुर्‍याएका उनले दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसक्नुभएकाे छ । सम्मान समारोहमा कला र उहाँका बारेमा सरुभक्त, इश्वरमणि अधिकारी लगाएतका साहित्यकारहरुले कविता मार्फत सम्झिनुभयाे । 

बरालले नेपाली चित्रकारितामा दिएको योगदानको कदरस्वरुप रथारोहण सहित सम्मान गरेको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताउनुभयाे । बरालले वात्स्यायनका नाममार्फत व्यंग्यचित्रका माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यंग्यचित्रकारितामा सर्वोच्च शिखरका रुपमा आफूलाई उभ्याएको अध्यक्ष पौडेले बताउनुभयाे ।

वात्स्यायनले चार पटक एकल चित्रकला प्रदर्शनी गरिसक्नुभएकाे छ । २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिकमार्फत व्यङ्ग्य चित्रकारकाे रुपमा काम सुरु गर्नुभएका उहाँले नेपाली कला क्षेत्रमा ५ दशक बिताइसक्नुभएकाे छ ।

 

अन्तिम अपडेट: चैत १, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया