सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक राष्ट्रिय विषय हो : प्रमुख सचेतक लेखक

 चैत ४, २०७९ शनिबार १८:१४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै विषय वस्तु नरहेको बताउनुभएको छ । 

शनिवार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै नभइ राष्ट्रिय विषय भएकाले सबै राजनीतिक दलहरु मिलेर अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले बैठकमा संसदलाई बढी भन्दा बढी बिजनेस दिनुपर्ने कुरामा छलफल भएको बताउनु भयो । उहाँले आईतवार बस्ने संसदको बैठकमा बेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक, संवैधानिक परिषद्को कार्यविधि सम्बन्धी विधेयक प्रस्तुत हुने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘संसदलाई बढी भन्दा बढी बिजनेस दिनुपर्‍यो भन्ने कुरा भएको छ । भोलिको संसदमा केही महत्वपूर्ण विधेयक आउँछन्, त्यसलाई अघि बढाउनुपर्छ । व्यक्ति बेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक अघि बढ्दैछ, संवैधानिक परिषद्को कार्यविधि सम्बन्धी विधेयक अघि बढ्दैछ, प्रतिनिधि सभा नियमावलीलाई सैद्धान्तिक छलफल गरी संशोधन आह्वान गर्नेकुरा भएको छ । बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा राजनीतिक दल विशेषको विषय होइन, यो राष्ट्रिय विषय हो । राजनीतिक दलका विषयमा मतान्तर छैनन् । कुनै विषयवस्तुमा कस्तो गर्ने भन्ने विषय छन्, त्यसमा छलफल गर्न सकिन्छ ।’

प्रमुख सचेतक लेखकले संविधानले नै गठबन्धनको संस्कृतिलाई नै अघि बढाउनुपर्ने कुरामा जोड दिएकाले त्यही अनुसार गठबन्धन अघि बढ्ने बताउनु भयो । उहाँले गठबन्धनको अर्को कुनै विकल्प नरहेको जिकिर गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया