स्ववियु चुनाव : प्रत्यक्षतर्फको नतिजा सार्वजनिक हुँदै, पूरै नतिजा आउन केही दिन लाग्ने

 चैत ६, २०७९ सोमबार ११:३१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको प्रत्यक्षतर्फको नतिजा आउन थालेको छ । स्ववियुको अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । 

काठमाण्डौको केन्द्रीय क्याम्पस कीर्तिपुर, शङ्करदेव, पद्मकन्या, पब्लिक युथ र थापाथली इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घ विजयी भएको छ । महेन्द्ररत्न क्याम्पस ताहाचल, पुल्चोक इञ्जिनियरिङ, महाराजगञ्ज मेडिकल कलेज, महाराजगञ्ज नर्सिङ क्याम्पस, ललितकला क्याम्पस  र पिपल्स क्याम्पसको सभापतिमा अनेरास्ववियु तथा नेपाल ल क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारी विजयी भएका छन् । 

काठमाण्डौबाहिर अनेरास्ववियुले वीरगञ्ज नर्सिङ, कैलालीको ऐश्वर्य बहुमुखी क्याम्पस, मकवानपुरको हेटौँडा क्याम्पस र निर्मल बहुमुखी क्याम्पस, झापाको कनकाई बहुमुखी क्याम्पस, कैलालीको लम्की बहुमुखी क्याम्पस र चौमाला बहुमुखी क्याम्पस, सर्लाही क्याम्पसको सभापतिमा जित हासिल गरेको छ ।

यस्तै कपिलवस्तुको बुद्ध भूमि क्याम्पस, फलारी बाबा बहुमुखी क्याम्पस र नेपाल आदर्श बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियु विजयी भएको हो । मोरङको लेटाङ बहुमुखी क्याम्पस, नर्सिङ क्याम्पस, रमाइलो क्याम्पस कानेपोखरी र स्नातकोत्तर क्याम्पस विराटनगरमा पनि अनेरास्ववियुले सभापति जितेको छ ।

यस्तै, मोरङको उर्लाबारी क्याम्पस, पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरान, कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, कपिलवस्तु बहुमुखी क्याम्पस, तनहुँको जनज्योति क्याम्पस, गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसको सभापतिमा नेविसङ्घ विजयी भएको छ । 

रुपन्देहीका ६ वटामध्ये पाँच वटा क्याम्पसको नतिजा सार्वजनिक भएको छ । पाँचमध्ये तीन वटामा नेविसङ्घ र दुईमा अनेरास्ववियु सभापतिमा विजयी भएका छन् ।  मकवानपुर बहुमुखी क्याम्पस हेटौँडाको स्ववियु सभापतिमा अखिल क्रान्तिकारी विजयी भएको छ । 

सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा जनमत पार्टी निकट जनमत विद्यार्थी सङ्घ विजयी भएको छ । पश्चिम नवलपरासीको रामग्राम ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसको सभापतिमा पनि जनमत विद्यार्थी सङ्घ विजयी भएको छ ।

दाङको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसको सभापतिमा अखिल संयुक्त विजयी भएको छ । सुदूरपश्चिम प्रदेशमा स्ववियु चुनाव भएका ३४ क्याम्पसमध्ये अनेरास्ववियुले १६ क्याम्पसमा सभापति जितेको छ ।  

समानुपातिकसहितको पूरै नतिजा आउन केही दिन लाग्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया