बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी

 चैत ६, २०७९ सोमबार १३:३८:५० | भवानीप्रसाद पाण्डे
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा रुपन्देहीकाे बुटवल बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियु विजयी भएको छ । प्राप्त मत परिणामअनुसार अनेरास्ववियुका सभापतिका उम्मेदवार दुर्गाबहादुर एम सि १ हजार २ सय १४ मत ल्याएर विजयी हुनुभयो । अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६ सय ३५ मत ल्याउनुभयो । तेस्राे स्थानमा रहेका नेविसङ्घका सागर पौडेलले ४ सय ७४ मत ल्याउनुभयो ।

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुले २०४९ सालदेखि जित्दै आएको छ । यो क्याम्पसमा अनेरास्ववियुले अखिल छैटाैँसँग तालमेल गरेको थियो भने नेविसङ्घ र अखिल क्रान्तिकारी छुट्टाछुट्टै चुनावमा प्रतिस्पर्धा गरेका थिए । ७ हजार १ सय १० जना मतदाता रहेका क्याम्पसमा २ हजार ६ सय ८१ मतदाताले मात्रै चुनावमा सहभागिता जनाएका थिए ।

योसँगै स्ववियु चुनाव भएका रुपन्देहीका ६ वटै क्याम्पसको नतिजा सार्वजनिक भएको छ । अनेरास्ववियुले ३ र नेविसङ्घले ३ वटा क्याम्पसमा जित हासिल गरेका छन् । बुटवल बहुमुखीसँगै हरैया बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रदीप सापकोटा सभापतिमा विजयी हुनुभएको छ । यस्तै देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुका अर्जुन गैरे सभापतिमा निर्वाचित हुनुभएको छ ।

यज्ञोदय क्याम्पस फर्साटिकरको सभापतिमा नेविसङ्घका महेश चौधरी निर्वाचित हुनुभएको छ । छपिया जनता कलेजमा नेविसङ्घका अभिषेककुमार यादव सभापतिमा विजयी हुनुभएको छ । शहीद नारायण पोखरेल रामापुर क्याम्पसमा नेविसङ्घका मनोज बेल्वासे सभापतिमा निर्वाचित हुनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया