विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डको दाबी– ‘राम्रो काम भइरहेको छ, थप राम्रो काम गर्नेछु’

 चैत ६, २०७९ सोमबार १३:४४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत माग्नुभएको छ । प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले गएकाे पुस १० गते आफू प्रधानमन्त्री बनेयता थुप्रै राम्रा काम भएको र नागरिकले अनुभव गर्ने गरी कैयाैँ काम गर्नका लागि विश्वासको मत दिन सांसदहरूलाई आग्रह गर्नुभयो ।

राहदानी बनाउन दुःख कम भएको, ठूला लाइन हुने संस्थामा लाइन कम भएको, नेपाल प्रहरीको बढुवामा पहिलो पटक वरीयताअनुसार नै बढुवा भएको, कर्मचारी सरुवा नियमअनुसार भइरहेको, ठूला विकास निर्माणका आयोजनाको कामलाई गति दिएको, आफैँले हरेक दिन बेलुका विभिन्न आयोजना प्रमुखसँग प्रगतिबारे ब्रिफिङ लगायतका काम गरेको प्रचण्डको भनाइ छ । यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भताभुङ्ग पारेका कामलाई आफूले व्यवस्थित गराउने प्रयास गरिरहेको उहाँले दाबी गर्नुभयाे । 

यस्तै बेपत्ता छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयकलाई संसदमा पेस गरेर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन पहल गरेको भन्दै प्रचण्डले यसलाई कुनै दलको मात्रै नठानेर देशकै मुद्दाका रूपमा हेर्न आग्रह गर्नुभयो ।

गएकाे पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डले पहिलो पटक पुस २६ गते विश्वासको मत लिनुभएको थियो । त्यति बेला सरकारमा सहभागी भएका र समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार फेरि विश्वासको मत लिन लाग्नुभएको हो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया