प्रचण्डलाई पाैडेलकाे प्रश्न : पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालुवाटारबाट बालकोट जानुभयो ?

 चैत ६, २०७९ सोमबार १४:५४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमालेसँग सहयात्रा किन टुङ्ग्याएकाे भनेर प्रश्न गर्नुभएकाे छ ।

आज सोमवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै उपाध्यक्ष पाैडेलले एमालेसँग सत्ता सहयात्रा टुङ्ग्याउनुको कारण माग गर्नुभएको हो । उहाँले राजनीतिक दलहरूसँग सहयात्राको विश्वास गर्न लायक काम प्रधानमन्त्रीले नगरेको आरोप लगाउनुभयो । उहाँले पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालुवाटारबाट बालकोट जानुभयो ? भन्दै प्रश्न गर्नुभयो ।

उपाध्यक्ष पाैडेलले प्रधानमन्त्री बनेको महिना दिन नबित्दै एमालेसँगको सहकार्य टुङ्ग्याउनुको कारण इतिहासले सोधिरहने बताउनुभयो । उहाँले नेकपा एमालेले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिनुको कारण प्रधानमन्त्रीले देखाएका गतिविधिले फिर्ता लिनुपरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘ प्रचण्डजी प्रधानमन्त्री पाउनका लागि बालुवाटारबाट बालकोट पुग्नुभयो । फेरि नेकपा एमालेसँग सहकार्य भएको दुई महिना नबित्दै एमालेसँगको सहकार्य किन टुङ्ग्याउनुभयो ? यसमा के कारण थियो ? अहिले त प्रधानमन्त्रीले यसको जवाफ नदिनुहोला तर इतिहासले यो प्रश्न सधैँ सोधिरहने छ ।’ 

उपाध्यक्ष पौडेलले नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसक्ने पनि स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया