प्रधानमन्त्री प्रचण्डलाई दाेस्राे पटक विश्वासकाे मत

 चैत ६, २०७९ सोमबार १७:३५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत पाउनुभएकाे छ । आज साेमवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएकाे मतदानमा उहाँले दाेस्राे पटक विश्वासकाे मत पाउनुभएकाे हाे । 

आजकाे बैठकमा २ सय ६२ सांसद उपस्थित भएकामा १ सय ७२ जनाले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएका हुन् । यस्तै ८९ सांसदले यस प्रस्तावको विपक्षमा मत दिँदा १ जना तटस्थ रहे ।

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिनुभयो । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विश्वासको मतको विपक्षमा मतदान गर्दा नेपाल मजदुर किसान पार्टी भने तटस्थ बसेको थियो ।

यसअघि गएकाे पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको थियो । प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए । त्यति बेला सरकारमा सहभागी भएका र समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार फेरि विश्वासको मत लिनुभएकाे हाे ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया