काठमाण्डाै महानगरपालिकामा ‘कोठा खाली गरिदिनुपर्‍यो’ भन्दै उजुरी गर्ने बढे

 चैत ७, २०७९ मंगलबार ७:४७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत उजुरी  घर बहालसँग सम्बन्धित आउने गरेको जनाएको छ ।

छिमेकीले खानेपानी ल्याउन असहयोग गरेको, सडक मिचेर घर निर्माण, फोहर व्यवस्थापन नगरेको जस्ता समस्या थोरैको सङ्ख्यामा आउने गरेको भए पनि ७५ प्रतिशत उजुरी घर बहालसँग सम्बन्धित अर्थात् घर खाली गराइदिन अनुरोध गर्दै आउने गरेको उपमेयर सुनिता डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार उजुरीमध्ये हरेक दिन कोठा खाली गरिदिनुपर्‍यो भन्दै आउने उजुरी बढी छ ।

पछिल्लो समय सहकारी सञ्चालकहरूले कार्यालय नै बन्द गरी घरभेटीसँग सम्पर्कविहीन भएका उजुरी पनि बढिरहेको छ । यसरी आउने उजुरीमा व्यक्तिगत प्रयोजनका लागि भाडामा दिएका र संस्थागतरूपमा नै भाडामा दिएका दुवै किसिमका उजुरी उत्तिनै छन् ।

भाडामा बस्ने सम्पर्कमा नआउने अधिकरूपमा यस्ता किसिमका उजुरी पर्ने गरेका छन् । संस्थागत होस् या व्यक्तिगत दुवै किसिमले भाडामा लगाउनेहरूले लिखित सम्झौता नगर्ने हुँदा यस्ता किसिमको समस्या बढी आउने गरेको महानगरपालिकाले जनाएको छ ।

यस किसिमको समस्या समाधानका लागि महानगरपालिकाले पछिल्लो समय निर्देशिका नै जारी गरेर घरधनी र भाडामा बस्नेबीच लिखितरूपमा नै सम्झौता गरी वडा कार्यालयमा पनि जानकारी दिनुपर्ने जनाएको छ । त्यसका लागि यसअघि भाडामा लगाउँदै आएकाहरूले पनि लिखितरूपमा पुनः सम्झौता गरी वडा कार्यालयमा दिनुपर्ने छ र नयाँले पनि गर्नुपर्ने छ ।

काठमाण्डौ महानगरपालिकाले अत्यधिकरूपमा बहालसम्बन्धी उजुरी बढेको र कर असुल गर्नसमेत समस्या भएको भन्दै गएको फागुन ३ गते ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरिसकेको छ । निर्देशिकाअनुसार अब घरधनीले घरभाडामा दिँदा अनिवार्यरूपमा सम्झौता गरी वडा कार्यालयमा लिखितरूपमा जानकारी दिनुपर्ने छ ।

सम्झौता गरेको पत्र वडा कार्यालयमा दिनका लागि कामपाले निर्देशिका जारीसँगै एक महिनाअघि ९० दिनको सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया