निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानुन आवश्यक छ : निर्वाचन आयुक्त तुलाधर

 चैत ७, २०७९ मंगलबार १२:३२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले निर्वाचन आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधारको प्रक्रियामा रहेको बताउनुभएको छ । 

मङ्गलवार आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधार गर्नका लागि काम गरिरहेको बताउनुभएको हो । उहाँले चुनावका लागि अझै परिष्कृत तरिकाले अघि बढ्न आयोगले आफ्ना कामहरु गरिरहेको दाबी गर्नुभयाे । उहाँले निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानुन बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले साइबर अपराधको नियमन र नियन्त्रण गर्न र डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित हस्तक्षेप रोक्न कानुन र प्रविधिको अभाव रहेको बताउनु भयो । उहाँले अनुगमन संयन्त्र पर्याप्त नहुँदा पनि धेरै समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो । उहाँले द्वेषपूर्ण अभिव्यक्ति चुनावको समयमा मात्रै नभइ अन्य समयमा पनि भइरहने भएकाले त्यसको नियमन हुन आवश्यक रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘साइबर अपराधको नियमन र नियन्त्रण गर्नको लागि डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित हस्तक्षेप रोक्नको लागि कानुन र प्रविधि पक्षको अभाव रहेको छ । अनुगमन संयन्त्र पनि पर्याप्त छैन । आयोगले नीति त बनायो तर सञ्चारको नीति अझै आउन सकेको छैन । द्वेषपूर्ण अभिव्यक्तिका कुराहरु चुनावको समयमा मात्रै होइन, अघिपछिका समयमा पनि हुन्छन्, यसलाई ख्याल गर्नुपर्छ ।'

निर्वाचन आयुक्त तुलाधरले सामाजिक सञ्जालको सही सदुपयोग गरी जनस्तरमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया