नेपालमा आणविक कानुनकाे आवश्यकता छ : उपसभामुख राना

 चैत ७, २०७९ मंगलबार १४:३६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताउनुभएको छ । मङ्गलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानुनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताउनुभएको हो ।

उहाँले नेपाल शान्तिको देश भएको र नेपालीले शान्ति चाहने भन्दै छिमेकी देशहरूले आणविक शक्ति प्रयोग गर्दा पर्ने असरहरूको क्षतिपूर्ति उनीहरूले दिनुपर्ने बताउनुभयो । उहाँले नेपाल दुई ठूला देशको बीचमा रहेकाले आणविक रूपमा नेपाललाई खतरा रहेको पनि उल्लेख गर्नुभयो ।  

उहाँले भन्नुभयो, ‘नेपाल शान्तिको देश हो । हामी शान्ति चाहन्छौँ । हामीलाई आणविक कानुनको आवश्यकता रहेको छ । छिमेकीहरूले आणविक प्रयोग गरेर केही भयो भने तिनीहरूले क्षतिपूर्ति दिनुपर्छ । दुई ठूला देशको बीचमा भएकाले हामीलाई अवश्य पनि खतरा छ ।’

उपसभामुख रानाले जलवायु परिवर्तनका कारण नेपालले धेरै असरहरू खेप्नुपरेको गुनासाे गर्नुभयाे । उब्जनी नहुने तथा पानीका मूलहरू सुक्ने समस्याका कारण बसाइँ सर्नुपर्ने अवस्थासमेत आउन थालेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेपालले आणविक कानुन बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिहरूलाई ध्यान दिएर बनाउनुपर्ने बताउनुभयो । उहाँले पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति लगायतका परराष्ट्र सम्बन्धका मुख्य अंशहरूलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल कुनै पनि प्रकारको युद्धमा सहभागी नहुने र कुनै पनि युद्धलाई सहयोगसमेत नगर्ने स्पष्ट पार्नुभयो । 

प्रतिनिधि सभा सदस्य भट्टराईले नेपाल दुई ठूला छिमेकी देश चीन र भारतको बीचमा रहेको भन्दै कानुन बनाउँदा ठूला देशको बीचमा हुदाँको फाइदा र अफ्ठ्याराहरूका बारेमा पनि विचार गर्नुपर्ने बताउनुभयो । भूराजनीतिक अवस्थालाई पनि हेर्नुपर्ने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया