संवैधानिक आयाेगहरूलाई जागिर खाने ठाउँकाे रूपमा विकास गर्न हुँदैन : अध्यक्ष तिमिल्सिना

 चैत ७, २०७९ मंगलबार १४:४६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

ललितपुर – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरूका काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरूलाई जागिर खाने ठाउँकाे रूपमा विकास गर्न नहुनेतर्फ पनि सचेत गराउनुभयो ।

मङ्गलवार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरूले त्यहीअनुसार काम गर्नुपर्ने बताउनुभयाे । अध्यक्ष तिमिल्सिनाले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगहरूलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नु भयो, ‘आयोगहरूलाई चाहिने न्यूनतम स्रोत, साधन उपलब्ध गराउन सरकारले कन्जुस्याइँ गर्न हुँदैन । आयोगहरूले पनि दिइएको जिम्मेवारी, परिभाषित कामहरूलाई कुशलतापूर्वक पूरा गर्न रचनात्मक हिसाबले लागेकाे हुन्छ । त्यसको औचित्य त्यति नै पुष्टि हुन्छ । सबै आयोगहरूका लागि त्यही नै हो । आयोग जागिर खाने थलो बनाउनका लागि हाे र ? म त्यहाँ पावरमा जान्छु भन्नका लागि होइन ।’

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरू अनन्त कालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्षभित्रै त्यसको आवश्यक नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकका हक, अधिकारको संरक्षण र सम्वर्धन गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सबै संवैधानिक आयोगहरूसँग सहकार्य र समन्वय गरेर आयोगले आफ्नो कामलाई अघि बढाइरहेको दाबी पनि गर्नुभयो ।

अध्यक्ष मगरले मानव अधिकारको संरक्षणका लागि सबै संवैधानिक आयोगहरूसँग मिलेर काम भइरहेको पनि स्मरण गराउनुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया