अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

 चैत १०, २०७९ शुक्रबार १४:४१:५४ | रासस
unn.prixa.net

फाइल फाेटाे, मनाङकाे जङ्गलमा लागेकाे डढेलाे

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम छ । 

पछिल्लो हप्ता देशभर वर्षा भएकाले आगलागीको क्रम केही रोकिएको छ । अब वर्षा रोकिनेबित्तिकै आगलागी बढ्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो समयमा सबैभन्दा बढी आगलागी र डढेलोले क्षति पुर्‍याउने भएकाले विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल पछिल्लो एक दशकको तथ्याङ्क हेर्ने हो भने आगलागीको दर बढ्दै गएको र त्यसले पुर्‍याउने क्षतिसमेत बढिरहेको बताउनुहुन्छ । ‘अझ पछिल्लो पाँच वर्षको तुलना गर्दा आगलागीको ग्राफ गुणाङ्कले बढेको छ’, पोखरेलले भन्नुभयो, ‘यो बेला विशेष सावधानी अपनाउनुपर्छ, स्थानीय तहलगायत सरोकारवाला निकायले त्यसको न्यूनीकरणका लागि पूर्वतयारी तथा आगलागी भइहालेको खण्डमा नियन्त्रणका लागि आवश्यक तयारी गर्ने बेला हो ।’

प्राधिकरणका अनुसार बुधवारमात्रै १८ विपद्जन्य घटना भएका थिए । त्यसमध्ये १६ घटना आगलागी, हावाहुरी चट्याङ र डढेलोका छन् । गएको वैशाखदेखि चार हजार ४८ वटा विपद्जन्य घटना भएकामध्ये सबैभन्दा बढी दुई हजार छ सय १३ घटना आगालागीका छन् । यी घटनामा परेर एक सय दुई जनाको ज्यान गएको छ भने तीन सय ५२ जना घाइते भएको तथ्याङ्क प्राधिकरणसँग छ ।

आगलागीबाट मानवीय क्षतिका साथै भौतिक क्षति पनि ठूलोमात्रामा हुने गरेको छ । ती घटनामा दुई अर्ब ३० करोड रुपैयाँ बढीको क्षति भएको छ । तीन हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । यस्तै हुरीबतासका एक सय घटना हुँदा १० जनाको ज्यान गएको छ भने डढेलोका एक सय ३४ घटनामा एक जनाले ज्यान गुमाएका छन् । चट्याङका दुई सय ३६ घटनामा ८० जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका आगलागीविज्ञ सुन्दर शर्माले यी तथ्याङ्कले पनि आगलागीको दर अत्यधिक रहेको र बढी भौतिक क्षति आगलागीका कारण हुने गरेको बताउनुभयो । ‘सबै विपद्जन्य घटनालाई विश्लेषण गर्दा त्यसको ९० प्रतिशत भौतिक क्षति आगलागीका कारण भएको छ । अहिलेसम्म नेपालमा आगलागी नियन्त्रणमा खटिने अग्रफोर्स भनेको नेपालका सुरक्षाकर्मी हो’, उहाँले भन्नुभयो । शर्माले सुरक्षाकर्मीबाहेकका तालिमप्राप्त दस्ता नेपालमा नभएको उल्लेख गर्नुभयो । 

पछिल्लो समय सरकारले स्वयंसेवक ब्युरोको अवधारणा ल्याएपछि त्यही आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वयंसेवी तयार पार्न लागेको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार अहिले स्वयंसेवीलाई तालिम दिने काम भइरहेको छ । मकवानपुरमा तालिम चलिरहेको छ । नमुनाका रूपमा विपद्का समयमा स्वयंसेवा गर्न इच्छुक व्यक्तिका लागि अनलाइनबाटै फारम भर्ने व्यवस्था गरिएको छ । पहिलो चरणमा रेडक्रसमा आबद्ध एक लाख जनालाई स्वयंसेवामा जोड्दै तालिम सुरु गरिएको प्राधिकरणले जनाएको छ । पालिकाको मातहतमा रहने गरी ती स्वयंसेवीलाई विपद्का बेला परिचालन गर्न सकिने छ ।

प्राधिकरणले आगलागी, हावाहुरी, चट्याङ र डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि आवश्यक तयारीसमेत थालेको जनाएको छ । यसका लागि आवश्यक तालिम, प्रशिक्षण यन्त्र, उपकरण व्यवस्थापनलगायतको काम भइरहेको प्राधिकरणका प्रमुख पोखरेलको भनाइ छ । 

भर्खरै प्राधिकरणले सिंहदरबारमा आगलागी नियन्त्रणका लागि उपयुक्त हुने ‘फायर फाइटिङ पम्प’को सफल अभ्यास गरेर देखाएको थियो । यस्ता यन्त्रको सही तरिकाले प्रयोग गरे दमकल नपुग्ने ठाउँमा पालिकाले सजिलै आगलागी नियन्त्रण गर्न सक्ने प्राधिकरणले जनाएको छ । ‘फायर फाइटिङ पम्प’को मूल्य एक लाख रुपैयाँमात्रै पर्ने भएकाले हरेक पालिकाले यो उपकरण व्यवस्थापन गर्न सक्ने उहाँले बताउनुभयो । 

धेरैजसो आगलागी मानवीय कारण

प्राधिकरणका आगलागीविज्ञ सुन्दर शर्मा धेरैजसो आगलागीका घटना मानवीय कारणले हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार ६४ प्रतिशत आगलागी मानिसले जानीजानी लगाउने गरेका छन् । २२ प्रतिशत चुरोटको ठुटा फ्याँक्नेलगायत हेल्चेक्र्याइँका कारण हुने गरेको छ ।

हरेक वर्ष डढेलो निभाउन जाँदा औसत सात जनाको ज्यान जाने गरेको उहाँले जानकारी दिनुभयो । औसतमा वार्षिक ८० घर आगलागीबाट जल्ने गरेका छन् ।  आगलागीले मानवीय र भौतिक सम्पत्तिका साथै जैविक विविधतामा ठूलो क्षति पुर्‍याए पनि यसतर्फ धेरैको ध्यान नपुगेको विज्ञ शर्मा बताउनुहुन्छ । उहाँका अनुसार आगलागी नियन्त्रणका लागि सरकारबाट समेत ध्यान नपुगेकाले बजेटको अभाव हुने गरेको छ । शर्माले पछिल्लो समय आगलागीको प्रकृति फरक हुँदै गएकाले ‘एरियल फायर फाइटर’को जरुरी रहेको बताउनुभयो । उहाँले वैशाखमा बढी आगलागी हुने भएकाले आजैदेखि सचेत हुनुपर्ने भन्दै आवश्यक तयारीमा जुट्न सबैलाई अनुरोध पनि गर्नुभएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया