जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै

 चैत १०, २०७९ शुक्रबार २०:३५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ भवन निर्माण कार्य सुरु भएको छ । पुराना भवनहरू जीर्ण भएपछि अहिले जिल्ला प्रहरी कार्यालयको नयाँ भवन बन्न लागेको हो । झन्डै ११ करोड रुपैयाँको लागतमा बन्न लागेको भवनको निर्माण कार्य १८ महिनामा सम्पन्न गरिसक्ने गरी सम्झाैता भएकाे छ । भवन निर्माणको जिम्मा आसिस आलोक जोइन्ट भेन्चरले पाएको छ ।

लामो समयदेखि पुरानो र साँघुरा भवनबाट सेवा प्रदान गर्नुपर्दा समस्या भइरहेकाले आधुनिक भवन निर्माण भएपछि सेवा प्रदान गर्न सहज हुने अपेक्षा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले जानकारी दिनुभयाे । नयाँ निर्माण हुने भवन तीन तलाको हुने छ । नयाँ बन्न लागेको भवनमा थुनुवा कक्ष, महिला पुरुष हिरासत कक्ष, बाल निगरानी कक्ष, ब्यारेक, कार्यालय प्रमुखको निवास, प्रहरीका आन्तरिक शाखाहरू निर्माण हुने डीएसपी पाण्डेयले बताउनुभयाे । 

नयाँ भवन निर्माण कार्य सुरु गरेपछि ५१ जना प्रहरी जवान महाकाली नगरपालिकाले निर्माण गरेको आइसोलेसन भवन तथा बृहत् खानेपानी कार्यालयले निर्माण गरेका भवन (भौराबगड) क्षेत्रमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) गोविन्द भण्डारीको नेतृत्वमा बस्ने गरेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस्तै बाँकी प्रहरीहरू अहिले कारागार तथा कोठा भाडामा लिएर बसिरहेका छन् ।

एकै पटक सबै संरचना भत्काएर सँगै निर्माण गर्नुपर्ने भएकाले व्यवस्थापनमा केही असजिलो भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । नयाँ बन्ने भवनको शिलान्यास केही समयपछि गर्ने तयारी छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया