छोरीभन्दा छोरा धेरै जन्मिए

 चैत ११, २०७९ शनिबार ६:३९:४ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । हिजाे सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन  प्रतिशत जन्मिएको पाइएको हो ।

जनगणनाअनुसार एक वर्षको बीचमा कूल चार लाख १२ हजार नौ सय ३५ जना बच्चा जन्मिएका थिए । तीमध्ये दुई लाख १८ हजार ७४ जना छोरा र एक लाख ९४ हजार आठ सय ६१ छोरी जन्मिएका थिए । 

जनगणनाअनुसार १० वर्षमा १५–४९ वर्षका कूल ६१ लाख ४५ हजार ३९ विवाहित महिलाले हालसम्म एक करोड २७ लाख ९९ हजार ९६९ बच्चा जन्माएका छन् । नेपालमा १५–४९ वर्षका विवाहित महिलामध्ये १२ प्रतिशतले कुनै पनि जीवित बच्चा नजन्माएको पाइएको छ । 

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ६१ लाख ४५ हजार ३९ जना विवाहित महिलामध्ये १२ प्रतिशतले बच्चा नजन्माएको पाइएको छ भने दुई जना जीवित बच्चा जन्माएका महिलाको सङ्ख्या सबैभन्दा बढी ३३ प्रतिशत छ । 

यस्तै एक जनामात्र जीवित बच्चा जन्माउने विवाहित महिला २३ दशमलव एक  प्रतिशत छन् भने नौ वा त्याेभन्दा बढी जीवित बच्चा जन्माउने महिला शुन्य दशमलव एक प्रतिशत छ । जीवित जन्मेका बच्चाहरुमध्ये तीन दशमलव दुई प्रतिशतको ज्यान गएको पाइएको छ । 

राष्ट्रिय जनगणनामा धेरैजसो व्यक्तिहरु ३४ दशमलव चार  प्रतिशतको पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको पाइएको छ भने दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरु २२ दशमलव तीन प्रतिशत छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया