अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण जेठ २० गते

 चैत १२, २०७९ आइतबार १०:३३:४९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म (१४२ दशमलव १९५ कि.मी.) को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा हुने भएको छ। अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको हो।

कोभिड-१९ का कारण दुई वटा संस्करण स्थगित भए पनि समितिले यसपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागिएको शुक्रवार घान्द्रुकमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिनुभयाे। 

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयोजनमा आयोजित छलफलमा स्थानीय पर्यटन व्यवसायीले म्याराथनलाई सफल पार्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन हुँदै आएको थियो । प्रतिकूल परिस्थितिका कारण गएकाे वर्षका कार्यक्रम स्थगित भए पनि यस पटक पूर्वनिर्धारित समय अनुसार नै कार्यक्रमलाई निरन्तरता दिइने समितिका सचिव मिकास गुरूङले बताउनु भयाे । 

वि.सं. २०७५ साल फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधारशिविरमा आएको हिमआँधीले अन्नपूर्ण आधारशिविरका होटलमा भएको गम्भीर क्षति, नेपाल भ्रमण वर्ष २०२० घोषणा भए लगत्तै अन्नपूर्ण पदयात्रामार्ग अन्तर्गत हिन्कु केभमा हिम पहिरोका कारण भएको दुःखद घटना र विश्वव्यापी कोभिड–१९ को सङ्क्रमण र त्यसको नियन्त्रण लागि अपनाइएको निषेधाज्ञाका कारण त्यस क्षेत्रको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको छ ।

पर्यटन क्षेत्रलाई धाराशयी हुन नदिनका विशेष राहत प्याकेज कार्यक्रम सञ्चालन गरी अर्थतन्त्रको सवलीकरण गर्न स्थानीय, प्रदेश र सङ्घ सरकारसँग विशेष अनुरोध गर्ने समितिले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया