इन्जिनियर व्यवसायी दर्ता हुन पहिलो पटक लाइसेन्स परीक्षा, मन्त्री श्रेष्ठद्वारा निरीक्षण

 चैत १२, २०७९ आइतबार १३:३५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनका लागि लाइसेन्स परीक्षा लिन सुरु गरेकाे छ ।

आइतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्नका लागि लाइसेन्स लिन पहिलो पटक परीक्षा लिन सुरु गरेको हो । काउन्सिलले लिएको पहिलो परीक्षामा इन्जिनियरिङ उत्तीर्ण गरेर बसेका दुई हजार ६ जना इन्जिनियर सहभागी छन् ।

नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्ट्रार तथा सदस्य सचिव शिवमंगल गिरीले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्नका लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सका लागि परीक्षा सुरु गरेको बताउनुभयो । उहाँले पहिलो पटक इन्जिनियरिङका २० वटा विधाको परीक्षा भइरहेको बताउनुभयो । उहाँले इन्जिनियरको रूपमा काम गर्नका लागि इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षामा उत्तीर्ण हुनुपर्ने बताउनुभयो ।

सदस्य सचिव गिरीले परीक्षामा उतीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने भएकाले नेपालभर इन्जिनियरका रूपमा काम गर्न नपाउने बताउनुभयो । विगतमा इन्जिनियरको प्रमाणपत्र पाउनेहरूले फेरि काउन्सिलले लिने परीक्षा दिनु नपर्ने उहाँकाे भनाइ छ ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले परीक्षाको निरीक्षण गर्नुभएको छ । उहाँले परीक्षा निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काउन्सिलले लिन लागेको परीक्षा राम्रो भएको भन्दै आफू प्रभावित भएको प्रतिक्रिया दिनुभयाे । उहाँले इन्जिनियर बन्नका लागि निष्पक्षता, गुणस्तरियताको ग्यारेन्टी गर्ने विधि प्रयोग भएको भन्दै इन्जिनियर भएर व्यवसाय गर्न परीक्षामा कसैको भनसुन नलाग्नेमा ढुक्क भएको बताउनुभयो ।

त्यस्तै काउन्सिलका अध्यक्ष पदम शाहीले विगतका विश्व विद्यालयको इन्जिनियरिङ उत्तीर्ण भएको प्रमाणपत्रका आधारमा काउन्सिलमा दर्ता भएर काम गर्न पाउने व्यवस्था रहेकाले परीक्षा प्रणाली नभएको बताउनुभयो । उहाँले भर्खरै संशोधन भएको ऐनअनुसार अब मान्यता प्राप्त विश्वविद्यालयबाट पाएको प्रमाणपत्र लिएर काउन्सिलले लिने परीक्षा उत्तीर्ण भएपछि मात्रै इन्जिनियर व्यवसायीको रूपमा काम गर्न पाउने भएको बताउनुभयो ।

अध्यक्ष शाहीले काउन्सिलले दुई दिन परीक्षा लिएर तत्कालै परीक्षाको नतिजा प्रकाशित गर्ने बताउनुभयाे । उहाँका अनुसार परीक्षा कम्प्युटर प्रविधिमार्फत हुनेछ ।

इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीहरूसँग परीक्षा लिने गरेको थिएन । काउन्सिलले विश्वविद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण प्रमाणपत्रका आधारमा परीक्षाविना लाइसेन्स दिएर इन्जिनियरको रूपमा काम गरिरहेका थिए । तर अब इन्जिनियरिङसम्बन्धी कुनै पनि व्यवसाय गर्नका लागि काउन्सिलको परीक्षा उत्तीर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया