गाैतमबुद्ध क्रिकेट रङ्गशालाकाे पूर्ण स्वामित्व सरकारले लिनुपर्छ : खिमलाल देवकाेटा

 चैत १२, २०७९ आइतबार १६:४६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताउनुभएको छ ।

आइतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला आवश्यक छ भन्ने सन्देश भर्खरैकै आईसीसी विश्व कप क्रिकेट लिग–२ ले देखाइसकेको भन्दै भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेशनद्वारा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व र अपनत्व आफैँ वा भरतपुर महानगरपालिकाले लिने गरी निर्णय गर्न सरकारसमक्ष अनुरोध गर्नुभयो । सदस्य देवकाेटाले राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो भए पनि सरकारसँग गुहार मागेपछि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला आवश्यक छ भन्ने सन्देश भर्खरैकाे आईसीसी विश्व कप क्रिकेट लिग–२ ले पनि देखाएको छ । यसै सन्दर्भमा भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेशनद्वारा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणका काममा देखिएका व्यवधानहरूको अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रूपमा रहन सक्ने त्याे रङ्गशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफैँ वा भरतपुर महानगरपालिकाले लिने गरी निर्णय गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछु । राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो हो, सरकारले नै गरोस्, हेरोस् भन्दा सरकारले सुन्नुपर्छ । गम्भीर हुनुपर्छ ।’

बैठकमा बाेल्दै सदस्य देवकोटाले नेपालमा शिक्षाको अवस्था चिन्ताजनक रहेको बताउनुभयो । उहाँले विद्यालय शिक्षामा बोर्डिङ स्कुलको प्रवेशले कैयौँ सरकारी विद्यालयहरू ध्वस्त भएको बताउनुभयो । निजी कलेज, स्कुलले मनपर्दी शुल्क बढाउँदा समेत सरकार मौन रहेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । 

सांसद देवकोटाले नेपालबाट दिनहुँ विद्यार्थीहरू विदेश पलायन भइरहेको भन्दै सरकारले यसमा गम्भीर बन्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया