भक्तपुरको कमलविनायक–नगरकोट सडकको ठेक्का तोड्ने प्रक्रिया सुरु

 चैत १३, २०७९ सोमबार १४:३७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै : भक्तपुर–नगरकोट–सिपाघाट सडक विस्तार आयोजनाले कमलविनायक–नगरकोट सडकको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ । आठ पटक म्याद थप गर्दा पनि काममा प्रगति नभएपछि आयोजनाले १४ दिने सूचना निकाल्दै अब पनि प्रगति नभए ठेक्का तोडिने बताएको हो ।

कमलविनायक–नगरकोट सडकको ठेक्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटीका रूपमा परिचित शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्शनले भारतीय कम्पनी आरामाली इन्फ्रा पावरसँग संयुक्तरूपमा लिएको हो । २०७१ साल जेठ २२ मा पहिलो सम्झौता भएको सडकको निर्माण कार्य २०७३ असार ३ गते सक्नुपर्ने थियो । तर आठ पटक म्याद थप्दा पनि काम सकिएको छैन । १५ किलोमिटर छ सय ६० मिटर लामो सडक खण्डमध्ये झन्डै एक किलोमिटर कालोपत्र गर्न बाँकी छ ।

ठेकेदारले सडक अलपत्र पारेपछि भक्तपुर–नगरकोटका सर्वसाधारण, पालिकाका जनप्रतिनिधिलगायतले पटक–पटक पहल गरे पनि काम पूरा भएको छैन । प्रधानमन्त्री प्रचण्डको घरबेटी भएकै कारण शारदाप्रसाद अधिकारीले थुप्रै ठेक्कामा उन्मुक्ति पाएको भन्दै आलोचना हुँदै आएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया