सर्लाहीका धेरैजसाे पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे भरमा

 चैत १३, २०७९ सोमबार १६:२३:१९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृत नहुँदा सर्लाहीका धेरैजसाे पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् । उपसचिवको दरबन्दी भएका नगरपालिकामा शाखा अधिकृत र प्रविधितर्फका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

उपसचिवको दरबन्दी रहेको गोडैता नगरपालिका, बलरा नगरपालिका, कविलासी नगरपालिका, हरिपुर नगरपालिका, बाग्मती नगरपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर काममा खटाएको छ । कविलासी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत राककुमार महतोको सरुवा भएपछि रिक्त दरबन्दीमा शाखा अधिकृत उदउप्रसाद देवकोटालाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर गएकाे भदौमा पठाएको थियो । नगरपालिकाभित्र आन्तरिक विवाद भएपछि देवकोटा अन्यत्रै सरुवा हुनुभएको छ ।

त्यसैगरी बलरा नगरपालिकामा पनि शाखा अधिकृत उमेश महतोले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै हरिपुर नगरपालिकामा मन्त्रालयले शाखा अधिकृत दिवाकर भुजेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको छ । त्यसैगरी उपसचिव दरबन्दी रहेको बाग्मती नगरपालिकामा उपसचिव नआएपछि शाखा अधिकृत विमल पोखरेलले नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनुभएको छ । उपसचिव दरबन्दी रहेको गोडैता नगरपालिकामा प्रविधि इन्जिनियर रमेशप्रसाद यादवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । त्यस्तै मन्त्रालयले बरहथवा नगरपालिमा शिक्षाका उपसचिव मदनकुमार थापालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको छ ।

उपसचिवको दरबन्दी रहेका ११ नगरपालिकामध्ये लालबन्दी नगरपालिकामा उपसचिव तारानाथ लुइँटेल, ईश्वरपुर नगरपालिकामा उपसचिव हिराकाजी श्रेष्ठ, हरिवन नगरपालिकामा उपसचिव सुरेन्द्र प्रधान, मलङ्गवा नगरपालिकामा उपसचिव गेहनाथ गौतम र हरिपुर्वा नगरपालिकामा उपसचिव बसन्त न्यौपानेमात्र दरबन्दीअनुसार नै प्रमुख प्रशासकीय अधिकृतक हुनुहुन्छ ।

शाखा अधिकृतको दरबन्दी भएका गाउँपालिकामध्ये चन्द्रनगर गाउँपालिका, चक्रघट्टा गाउँपालिका र ब्रह्मपुरी गाउँपालिकमा मात्र शाखा अधिकृतले जिम्मेवारी पाउनुभएको छ । चन्द्रनगरमा शाखा अधिकृत मदन थिङ, ब्रह्मपुरीमा शैलेश राय र चक्रघट्टामा संजिपकुमार यादव प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारमा हुनुहुन्छ । अन्य बाँकी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे भरमा चलेका गाउँपालिकामा बसबरीया गाउँपालिकामा आयुर्वेदका चुनचुनप्रसाद यादव, रानगर गाँउपालकिामा आयुर्वेदकै कृष्णकुमार साह, कौडेना गाउँपालिकामा स्वास्थ्यका शम्भुप्रसाद यादव, धनकौल गाउँपालिकामा स्वास्थ्यका कृष्णप्रसाद साह, विष्णु गाउँपालिकामा स्वास्थ्यका संजिप सापकोटा र पर्सा गाउपालिकामा अधिकृत छैटौँ सुरेशकुमार यादवलाई मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका सङ्घका उपसचिव तथा शाखा अधिकृत स्थानीय पालिकामा बस्न नमाने गरेका कारण धेरै पालिकामा प्रविधितर्फका इन्जिनियर, शिक्षा अधिकृत , जनस्वास्थका हेल्थ असिस्टेन्ट, कृषि र भेटनरीका जेटियोले निमित्त प्रमुख प्रशासकीय अधिकृतक भएर काम गरिरहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा पठाएका धेरैजसाे प्रशासकीय अधिकृत मन्त्रालयमा नै बस्दा यस्तो समस्या भएको कविलासी नगरपालिका उपमेयर पुनम कर्णको भनाइ छ ।

‘मन्त्रालयबाट पठाएका अधिकृत विभिन्न कारण देखाएर कार्यालय बस्न मान्दैनन्, स्थानीय पालिकमा बसेर काम गर्न समस्या भए पनि सहमतिबाट सामधान खोज्नुपर्ने हाे । असार लाग्न चार महिना बाँकी छ, प्रशासकीय अधिकृत नभएर अहिलेसम्म विकासको काम हुन सकेको छैन, हाकिम नहुँदा सब काम चौपट भएको छ । राजनीतिक दलदेखि जनप्रतिनिधि सबैलाई मिलाएर लाने काम प्रशासकीय अधिकृत र जनप्रतिनिधि भएर गर्नुपर्छ । कार्यपालिकामा सबैको विचार मिल्दैन र विवाद हुन्छ’, कर्ण भन्नुहुन्छ, ‘पालिका चलाउन सहज छैन, विषय विज्ञ र जिम्मेवार कर्मचारी नहुँदा आवश्यक विधेयक ल्याउन र त्यसलाई कार्यान्वयन गर्न समस्या परेको छ ।’

पालिकामा काम गर्दा मेयरले भनेअनुसारको काम गर्नुपर्ने र नमाने डर/धम्की दिने गरेको प्रशासकीय अधिकृतहरूको गुनासो छ । पालिकामा ऐन, कानुनभन्दा पनि जनप्रतिनिधिलाई खुसी पार्नुपर्ने बाध्यता भएका कारण अधिकृत नबस्ने गरेका विश्लेषक रजनीकान्त झाको भनाइ छ । जनप्रतिनिधिले पालिकामा प्रशासकीय अधिकृत पठाउँदा आफू अनुकूल चल्ने पठाउन मन्त्रालयलाई दबाब दिने गरेका गुनासो बढ्न थालेको छ । जिल्लाका दक्षिणी भेगका धेरै पालिकामा राजनीति खिचातानीकै कारण अधिकृत नबस्ने गरेको स्थानीयको भनाइ छ । कर्मचारी भर्ना, योजना छनाेट, शाखा प्रमुखको जिम्मेवारी तोक्दा जनप्रतिनिधिले आफू अनुकूलको हुनुपर्नेमा दबाब दिने गरेका प्रशासकीय अधिकृत बताउँछन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया