एमाले अध्यक्ष ओलीद्वारा गुल्मीमा कालोपत्र सडक उद्घाटन

 चैत १४, २०७९ मंगलबार १८:१२:३९ | प्रेमनारायण आचार्य
unn.prixa.net

गुल्मी – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०५१ सालमा एमाले सरकारले सुरु गरेको 'आफ्नो गाउँ आफैँ बनाउँ' भन्ने नारासँगै विकासको अभियान सुरु गरेको बताउनुभएको छ । उहाँले तत्कालीन गाउँ विकास समितिको पालादेखि विकासको लहर सुरु भएसँगै ग्रामीण क्षेत्रमा पनि विकासकाे लहर आएकाे बताउनुभयो । 

गुल्मीको छत्रकोट गाउँपालिका ४ अन्तर्गत पिपलनेटा, धरमपानी, मानकोट, दौघा, हुँदै अर्घाखाँचीको फर्सा टाकुरा जोड्ने सडक खण्डको डेढ किलोमिटर कालोपत्र सडकको मङ्गलवार उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । उहाँले देशभर आफूहरूको सरकार हुँदा नागरिकले आशा गर्न लायक थुप्रै विकासका कामहरू सुरु भएकाे दाबी गर्नुभयाे । एमाले देशको विकासमा नागरिकसँगै रहेको भन्दै सञ्चालित योजनालाई पूर्णता दिन आफूहरूको सहयोग रहने उहाँले प्रतिबद्धता जनाउनुभयाे । 

आज उद्घाटन गरिएकाे सडक प्रदेश समपूरक कोषअन्तर्गत दुई करोड तीन लाख ८० हजार रुपैयाँमा पुष्पाञ्जली शंकर जेभी तम्घासले निर्माण गरेको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयाे । गुल्मी, पाल्पा र अर्घाखाँची जोड्ने १७ किलोमिटर सडक खण्डअन्तर्गत पहिलो चरणमा पिपलनेटा घडेरीटोला खण्ड कालोपत्र गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयाे ।

आउँदो असार मसान्तमा सम्पन्न गर्ने गरी गएकाे मङ्सिरमा सम्झौता गरिएको यस सडक कालोपत्रको काम सम्झौता सकिनुभन्दा तीन महिनाअघि नै सम्पन्न भएकाे निर्माण व्यवसायी सञ्जय पन्थीले बताउनुभयाे । छत्रकोट गाउँपालिकाका सम्झौता भएका धेरै सडककाे काम निर्माण कम्पनीले अलपत्र पारेकाे अवस्थामा पुष्पाञ्जली शंकर जेभीले भने समयअघि नै काम सम्पन्न गरेको हो । 

२०४९/५० सालमा पहिलो ट्र्याक खोलिएको यस सडक छत्रकोट गाउँपालिकाभित्र रहेका आन्तरिक सडकहरूमध्ये पहिलो कालोपत्र भएकाे सडक हो । सडक निर्माण भएको झन्डै तीन दशकपछि कालोपत्र गर्न सुरु भएपछि स्थानीय खुसी भएका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया