मिटरब्याज पीडितको व्यथा : कहिल्यै नसकिने ऋणको जालो !

 चैत १५, २०७९ बुधबार १२:४:३९ | वैद्यनाथ पाैडेल
unn.prixa.net

६ महिने शिशुलाई घरको आँगनमा घाममा तेल लगाएर सुताउनु पर्ने बेला धनुषा सबैलाकी कल्पना धामी काठमाण्डौमा धर्ना बस्न आउनुभएको छ । मिटरब्याजले उठीबास हुन थालेपछि काखे शिशु बोकेर उहाँ गाउँका अरुसँगै ११ दिन हिँडेर काठमाण्डौ आइपुग्नुभएको हो । उहाँले बच्चाको उपचारका लागि भनेर गाउँकै साहु सरु यादवसँग ५० हजार रुपैयाँ लिनु भएको थियो । तर, एक लाख रुपैयाँ तिरिसक्दा पनि उहाँको ऋण चुक्ता भएको छैन । वैदेशिक रोजगारीमा साउदी अरब गएका धामीको श्रीमानले पठाएको पैसा पटक पटक गरेर तिरे पनि अहिलेसम्म ऋण सकिएको छैन ।

उहाँ भन्नुहुन्छ, ‘५० हजार लिएको पटक पटक गरेर एक लाख रुपैयाँ तिरिसक्यो तर साहु अझै ऋण चुक्ता भएको छैन भन्छ । लिएको पैसाको प्रमाण दिँदैन । कहिलेसम्म तिरिरहने । कति अन्याय र पीडा खप्ने ?’ उहाँले साहुलाई दिएको पैसाको कुनै लिखत र प्रमाण छैन । तर, साहुले दिएको पीडाको प्रमाण उहाँको अनुहार र अवस्थामा प्रष्ट भेटिन्छ ।

यस्तै समस्यामा हुनुहुन्छ धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी लक्ष्मी बराल । उहाँ तीन वर्षीया छोरीको कहिले हात समाउँदै र कहिले अघि लगाउँदै न्यायको गुहार माग्दै काठमाण्डौमा हुनुहुन्छ । उहाँले लघुवित्तको ऋण तिर्न सय कडा ५ मा साहुसँग दश धुर जग्गा बन्धकी राखेर तीन लाख रुपैयाँ ऋण लिनु भएको थियो ।

आठ वर्षमा उहाँले तीन लाखको २५ लाख रुपैयाँ तिरीसक्नु भयो । तर, पनि ऋण तिरेर सकिएको छैन भन्छन् साहु । अनि यसैको लागि साहुले घर जग्गा रजिष्ट्रेशन पनि गरिसको । साहुले दिएको अन्यायबाट मुक्तिका लागि अहिले उहाँ पैसा सापटी लिएरै काठमाण्डौ आउनु भएको छ । भन्नुहुन्छ, ‘साहुले लिएको ऋण तिरेर चुक्ता गरिसक्दासमेत बाँकी छ भन्छ । ऋणका कारण भएको अन्यायको लागि अहिले फेरि ऋण लिएरै काठमाण्डौ आउनु परेको छ ।’

सिरहा मबेलाकी १३ वर्षीया किशोरी गरिमा रायको आमाले साहु सुजाता साहसँग दुई लाख रुपैयाँ लिनु भएको थियो । ऋण दुई लाख लिए पनि कागज भने साहुले छ लाखको गराए । ऋण तिर्न नसक्दा साहुले बिस्तारै ऋण बढाएर ३५ लाख पुर्‍याए ।

उहाँ भन्नुहुन्छ, ‘मम्मीले भाइको उपचार गर्न भनेर दुई लाख रुपैयाँ लिएको हो । तर, अहिले साहुले ३५ लाख ऋण बनाइसक्यो । ३५ लाख चाहिन्छ भनेको छ । अब कहाँबाट तिर्ने हामीले त्यो पैसा ।’

अहिले साहुले कि पैसा चाहियो कि जग्गा पास गरिदिनुपर्यो भनेर धम्की दिन्छ । स्कूल जाँदा अपहरण गर्ने धम्की दिएका कारण आफू स्कूलसमेत जाने नगरेको राय बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘साहुले अहिले जहाँ भेटे पनि मम्मीलाई पैसा चाहियो भनेर धम्की दिन्छ । पैसा नभए छोरी उठाउँछु भन्छ । त्यही भएर अहिले स्कुल पनि जान सकेको छैन ।’

यस्तै मिटरब्याजीको फन्दामा पर्नु भएको छ सप्तरी नगरपालिका–१० बोदेबरसाइनका राजीवकुमार यादव । उहाँले गाई पालनका लागि भनेर १३ लाख रुपैयाँ ऋण लिनुभएको थियो । उहाँसँग पहिले पाँच वटा गाई थिए । अनि अरु गाई थप्न तथा फर्म बढाउनका लागि भनेर उहाँले त्यो ऋण लिनु भएको थियो ।

यो ऋण लिँदा साहु राजेन्द्रप्रसाद साह तेलीले उहाँको बाबुको नाममा रहेको २२ कट्ठा जग्गा पास गरे । १३ लाखको ऋण १७ लाख नगद अनि त्यसले पनि नपुगेर बाँकी सात लाख भने उहाँले गाई बेचेरै तिर्नुभयो । तर, पनि अझै ऋण भने सकिएको छैन ।

उहाँसँग यो सबै कुराको प्रमाण छ । आफूले लिएको ऋण तथा उहाँले तिरेको पैसाको पनि उहाँसँग प्रमाण छ । सबै कागजात देखाउँदै यादव भन्नुहुन्छ, ‘अहिले जग्गा फुकुवा गरिदेउ भन्दा एक लाख रुपैयाँ छुटेको छ भन्छ । त्यो पनि दिन्छु भन्दा कहिले लाभकर लाग्छ । कहिले कोरोना भाइरस भन्दै टारिरहेको छ । अहिले त सधैँ कहिले कहाँ छु, कहिले कहाँ छु भनेर भागेर हिँड्छ ।’

मिटरब्याज पीडितलाई न्याय दिलाउने अठोटका साथ कहिले हाते माइकबाट नारा लगाउँदै त कहिले व्यवस्थित भएर लाइनमा हिँड्न आग्रह गर्दै हुनुहुन्छ मिटरब्याज विरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवान । सिरहा औरही गाउँपालिका–४ का पासवान सिरहा, सप्तरी, धनुषा, महोत्तरीलगायतका जिल्लाका सबै सदरमुकाम तथा जनकपुरमा गएर मधेश प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिए पनि कतैबाट समस्याको सुनुवाइ नभएपछि अहिले बाध्य भएर काठमाण्डौ आउनुपरेको बताउनुहुन्छ पासवान ।

६ महिने शिशुदेखि ७८ वर्षसम्मका ज्येष्ठ नागरिक तथा ४२ महिला गरी ७२ जनाको नेतृत्व गरेर काठमाण्डौको यात्रामा निस्कनु भएका पासवानकाे यात्रामा अहिले अरु २० जना थपिएर ९२ पुगेको छ । यात्रामा भएको कष्ट भन्दा मिटरब्याजीले दिएको पीडा अत्यन्त दर्दनाक भएका कारण त्यो कष्ट भुलेर यो यात्रा गर्नुपरेको बताउनुहुन्छ पासवान ।

उहाँ भन्नुहुन्छ, ‘सुदखोरका कारण मान्छे डिप्रेसनमा गएका छन् बालबच्चाको पढाइ  लेखाइ खत्तम भएको छ । सुकुम्बासी भएको अवस्था छ । यो पीडा दूर गर्न यहाँ आएका हौँ ।’

पासवानका अनुसार अहिले मिटरब्याजीहरुले जाली तमसुक गराउँदै मान्छेको सम्पत्ति हडप्ने गरेकोले यस्ता सबै जाली तमसुक खारेज गराउँदै पीडितलाई न्याया दिलाउनुपर्छ ।

 

उहाँ भन्नुुहुन्छ, ‘फर्जी तमसुकको आडमा सुदखोरहरुले पीडितको जायजेथा अदालतको माध्यमबाट लिलाम गराएको छ । एक लाखको बीस, बीस लाख लिएको छ । त्यो सबै फिर्ता हुनुपर्यो र ती सुदखोरमाथि एकदम कडा कारबाही हुनुपर्यो ।’

जाली तमसुकका माध्यमबाट दिएको सावाँ तथा ब्याजको स्याजसमेत असुल गर्ने तर कर नतिर्ने गर्दा यसले सरकारलाई तिर्नुपर्ने राजश्वसमेत नतिरेर चुहावट भएका कारण सरकारले यसलाई गम्भीररुपमा लिनुपर्ने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘यो त निमुखा सोझा, सिधा जनतामाथि पनि सरासर अन्याय भयो भने सरकारलाई पनि घाटा भयो । सरकारले दुवैथरीलाई नोक्सान हुने काम त गर्नुभएन नि ।’

अन्तिम अपडेट: बैशाख ६, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया