माओवादी केन्द्रका नेता कुशवाह जनमत पार्टीमा प्रवेश

 चैत १५, २०७९ बुधबार १३:४०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शिवचन्द्र प्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गर्नु भएको छ ।

बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष सिके राउतले उहाँलाई पार्टीमा प्रवेश गराउनु भएको हो । त्यसक्रममा कुशवाहले बारा क्षेत्र नम्बर २ का जनताको भावना अनुसार चुनाव लड्न आफू जनमत पार्टीमा प्रवेश गर्नु परेको स्पष्ट पार्नुभयो । हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा उहाँलाई जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले ३५४ मतले पराजित गर्नु भएको थियो । तर जनताको भावना विपरीत माओवादी केन्द्रले उपेन्द्र यादवलाई उपचुनावमा लडाउने भएपछि आफूले त्याे पार्टी परित्याग गर्नु परेको पनि कुशवाहले खुलासा गर्नु भयो ।

उहाँले चुनावमा हार व्यहोरेका यादव पदलोलुप भन्दै बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा हराएर पठाउने चेतावनी समेत दिनु भयो । माओवादी पार्टीले आफूमाथि जालझेल र षड्यन्त्र गरेकाले आफूले मधेश मुक्ति र देशका लागि केही गर्ने मनोविज्ञान बोकेको सिके राउत नेतृत्वको जनमत पार्टी रोज्नु परेको उहाँको भनाई थियो ।  

कुशवाहले भन्नु भयो,  ‘अब मैले कम्युनिष्ट पार्टी होइन, देशमा केही गर्नका लागि सिके राउत राजनीतिमा प्रवेश गर्नु भएको छ । वैज्ञानिक जस्तो मान्छे, मधेश मुक्तिका लागि उहाँ आउनु भएको छ । देश र जनताको उहाँमाथि परेको मनोविज्ञान अनुसार आफूले पनि उहाँलाई साथ दिन यो पार्टी प्रवेश गरेको छु ।’

कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो पार्टी जनताको मात्रै नभई नेताको पनि उद्धार गर्ने पार्टी भएको दाबी गर्नु भएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया