बारा–२ काे उपचुनावमा जनमत पार्टीले छाेड्दैन : सीके राउत

 चैत १५, २०७९ बुधबार १३:५६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले बारा क्षेत्र नम्बर २ को उपचुनावमा आफ्नो पार्टीले नछोड्ने बताउनुभएकाे छ । बुधवार नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुशवाहलाई पार्टीमा प्रवेश गराउनका लागि काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो ।

अध्यक्ष राउतले आफ्नो पार्टीले कुशवाहलाई उम्मेदवार बनाउने र उहाँको जित हुने प्रबल सम्भावना रहेको बताउनुभयो । मधेस प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने सहमति सत्तारूढ गठबन्धनमा भएको उल्लेख गर्दै त्यसलाई बारा क्षेत्र नम्बर २ को उपचुनावसँग जोडेर नहेर्न उहाँकाे भनाइ छ ।

अध्यक्ष राउतले वैकल्पिक नयाँ राजनीतिक दलहरूलाई आफ्नो पार्टीको पक्षमा मतदान गरी बारा क्षेत्र नम्बर २ बाट कुशवाहलाई जिताउन पनि आग्रह गर्नुभयो । ठूला पार्टीहरू पदका लागि मिल्ने गरेकाले नयाँ राजनीतिक शक्तिहरूले पनि मिलेर त्याे चुनावमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने राउतकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘वैकल्पिक राजनीतिक पार्टीहरूले हामी सत्यको पक्षमा उभिने हो भनेर बुझ्नुपर्छ । यदि हामीहरू यसरी नै विभाजित भइरहने हो भने ठूला दलहरूले के गरिरहेका छन्, तपाईँहरूले बुझ्नुभएकै छ । ठूला दलहरूकाे सिद्धान्त नमिले पनि पदकै लागि उनीहरू जहिले पनि मिल्छन् । तर वैकल्पिक राजनीतिक शक्तिहरूले चाहिँ किन सकिरहेका छैनन् ? त्यो सोच्नुपर्छ । हामी वैकल्पिक नयाँ राजनीतिक शक्तिहरू मिलेर अब शिवचन्द्र कुशवाहजीलाई जिताउनुपर्छ ।’

अध्यक्ष राउतले सत्यको पक्षमा लाग्न पनि बारा २ को उपचुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको जिकिरसमेत गर्नुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया