युट्युब र टिकटकबाट सञ्चारमाध्यम आत्तिन पर्दैन : केपी ओली

 चैत १५, २०७९ बुधबार १६:२०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यामहरूलाई युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नआत्तिन आग्रह गर्नुभएको छ । समाचारका स्रोतहरू टेलिभिजनसहितका सञ्चारमाध्यमहरू नै भएकाले युट्युब, फेसबुकलगायतका सामाजिक सञ्जालबाट आत्तिन आवश्यक नरहेको उहाँकाे भनाइ थियो ।

बुधवार बुटवलमा आयोजित लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालहरूसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल 'ब्रेकिङ न्युज' को सम्भावना नरहेको तर्कसमेत गर्नुभयो । उहाँले नयाँ–नयाँ प्रविधि भित्र्याउन र 'टिमवर्क' मा काम गर्न पनि सञ्चारमाध्यमहरूलाई सुझाव दिनु भयो ।

उहाँले भन्नुभयो, ‘अत्यन्तै तीव्रताका साथ सञ्चारका प्रविधिहरू विकास भइरहेका छन । टेलिभिजनहरू युट्युब, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालसँग हच्किएकाे देख्छु । तर समाचारका स्राेतहरू टेलिभिजन लगायतका सञ्चारमाध्यमहरू नै हुन् । त्यसैले सञ्चारमाध्यम सामाजिक सञ्जालबाट हच्किन पर्दैन । टेलिभिजनबाट समाचार प्राप्त गरेर नै त्यो समाचारलाई लिएर अरूले बनाउने हो ।’

अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि नेपालमा सञ्चारमाध्यमहरूको विकासले गति लिएको पनि स्मरण गराउनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया