नेपाली नाटक 'इम्ब्रियोनिक' जापानमा मञ्चन हुने

 चैत १९, २०७९ आइतबार २०:२४:३५ | सागर राज तिमिल्सिना
unn.prixa.net

नाटकमा प्रदर्शन गर्दै कलाकार

कास्की – पोखराकाे इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक 'इम्ब्रियोनिक' जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आइतवार बेलुकी जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा नाटक मञ्चन गरिने इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए ।  

गर्ने, खाने, मर्ने यो जीवनको मूल ध्येयलाई भुलेर मानिस आर्जन र सम्पत्ति एकट्ठामा व्यस्त हुँदा मानिसले बाँच्न नजानेको कुरालाई नाटकमा देखाइएकाे पाैडेलले बताए । यो नाटकले मानिसलाई सोच्न बाध्य बनाउने उनको भनाइ छ ।

जीवन बाँच्ने तरिकालाई नाटकले देखाउने नाटकका निर्देशक र अभिनेतासमेत रहेका पौडेलले बताए । नाटकमा पौडेलसँगै, कपिल शर्मा र दीपेन्द्र पौडेलको पनि अभिनय रहेको छ । नाटकमा शिवहरि अर्याल र अर्जुन गुरुङले सङ्गीत दिएका छन् । नाटक उत्पादनमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको छ ।

२०२२ मार्च महिनामा इटालीकाे पिसामा आयोजित एक कार्यशालामा इटलीसहित युरोप, अमेरिका, अफ्रिका, एसियाका साहित्य, सङ्गीत, रङ्गमञ्चका सम्पूर्ण कला विधाका कलाकार सहभागी भएका थिए । जहाँ एसियाबाट केदारनाथ पौडेलले सहभागिता जनाएका थिए । कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउने समूहको उद्देश्यअनुसार यो नाटक तयार पारेको उनले बताए । त्यही क्रममा अहिलेको पछिल्लो प्रस्तुति 'इम्ब्रिओनिक' तयार भएको उनको भनाइ छ ।

यो नाटक २०७९ साउन ६ गते ढिकीडाँडा रिसोर्ट घार्मीमा प्रदर्शन गरिएको थियो । त्यसपछि २०७९ असोज १४ गते पोखरा थिएटरमा भएको पोखरा लिटरेचर फेस्टिभलमा यो नाटक प्रदर्शन गरिएको थियो । त्यसैगरी काठमाण्डाैकाे मण्डला थिएटरमा भएको नेपाल इन्टरनेशनल थिएटर फेस्टिभलमा पनि प्रदर्शन भइसकेको छ ।

इन्द्रेणी थिएटरको स्थापना २०७६ सालमा भएको हो । स्थापनाकालदेखि अहिलेसम्म संस्थाले नाटक तथा साहित्यका अन्य विधाहरूमा विभिन्न काम गर्दै आइरहेको छ । संस्थाले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नाटक, कार्यपत्र, खोज अनुसन्धान, चित्रकला, कविता, गजललगायतको क्षेत्रमा काम गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया