अहिलेको कोरोना संक्रमण कडा छैन, तर सावधानी अपनाउन जरुरी

 चैत २३, २०७९ बिहिबार १०:३४:२२ | डा. शेरबहादुर पुन
unn.prixa.net

केही दिनदेखि कोरोना संक्रमण बढ्न थालेको छ । भारतमा फैलिएको कारण नेपालमा पनि त्यसको असर परेको हुन सक्छ । संक्रमण बढे पनि अस्पतालहरुमा कोभिडका बिरामीको खास चाप छैन । अहिलेको भेरियन्ट ओमिक्रोनकै हाइब्रिड भेरियन्ट हो भन्ने अनुमान गरिएको छ । 

धेरै मान्छेले कम्तिमा पनि दुई मात्रा खोप लगाएको तथा पटक पटक प्राकृतिकरुपमा संक्रमित भइसकेको अवस्था भएको हुनाले धेरैमा कडा लक्षण नदेखिएको जस्तो लाग्छ । जस्ले गर्दा ती व्यक्तिहरु अस्पतालसम्म नआइपुगेको हुनसक्छ । अर्को भनेको यदि भर्खर सुरुवात भएको हो भने आउँदा दिनमा कस्तो हुन्छ त्यो भने हेर्नैपर्छ । 

हामीले अहिले गर्ने भनेको सतर्कता अपनाउने मात्रै हो । खासगरी ज्येष्ठ नागरिक, दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु जसलाई हामी जोखिम समूह पनि भन्ने गर्छौँ उहाँहरुले अलि सर्तक रहनु पर्ने हुन्छ । र, यस्ता मानिसहरुलाई खोप नलगाएको अवस्थामा बढी जटिल हुनसक्छ । अहिले हामी यस्ता समूहमा सतर्क रहेको देखिँदैन । अहिले यस्ता समूहका बारेमा त्यति ध्यान दिइएको पाइँदैन । त्यसैले आगामी दिनमा यस्ता समूहकाबारे अलि सतर्कता अपनाउन आवश्यक छ । 

केही महिनादेखि कोरोनाको संक्रमण कडा भएको छैन र आउँदा दिनमा पनि कडा हुने सम्भावना देखिँदैन । कुल जनसंख्याको ७५ प्रतिशत र लक्षित जनसंख्याको ९५ प्रतिशतले खोप लगाइसकेको कारण सम्भवतः पहिलो र दोस्रो चरण जस्तो कोरोनाको गम्भीर प्रभाव हुने देखिँदैन । तर, यति हुँदाहुँदै पनि जोखिम समूहमा रहेका ज्येष्ठ नागरिक, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुले सतर्कता अपनाउनैपर्छ ।

खोप सहजरुपमा उपलब्ध हुनुअगाडि एक, ठाउँ दुई ठाउँमा संक्रमण देखिंदा पनि हामी तर्सिनुपर्ने अवस्था थियो । किनभने हामीलाई त्यसबेला यो कस्तो खालको भाइरस हो, यसले कतिसम्म अप्ठेरो बनाउँछ भन्ने थाहा नै थिएन । भाइरसको उपचार पद्धतिको बारेमा पनि त्यति ज्ञान थिएन । मुख्य कुरो त त्यसबेलामा कोभिडको खोप पनि उपलब्ध भएको अवस्था थिएन । भारतबाट ल्याउने भनिएको कोभिशिल्ड त्यहाँको सर्वोच्च अदालतका कारण रोकियो । ततपश्चात दोस्रो लहर आयो र धेरै मान्छेको ज्यान गयो । त्यो बेलामा कतै संक्रमण देखिने बित्तिकै तर्सिहाल्नु पर्ने अवस्था थियो । अहिले भनेको खोप लगाइसके पछिको अवस्था हो । अहिले खोप पनि प्रशस्त मात्रामा छ । डाक्टरहरुले पनि धेरै उपचारको पद्धति थाहा पाए । औषधि पनि नयाँ नयाँ आयो । त्यो बेलाको भन्दा अहिले धेरै कुरा उपलब्ध छ । मुख्य कुरा खोप सहजरुपमा उपलब्ध छ । यो कारणले गर्दा पहिलेको अवस्था र अहिलेको अवस्थालाई एउटै आँखाले हेर्नु हुँदैन भन्ने भनाइ हो । 

तर, यति भन्दै गर्दा पूर्ण खोप नलगाउने पनि छन् । जोखिम समूहमा रहेका ज्येष्ठ नागरिक, दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुले भने नेपाल सरकारले दिएको एक मात्रा बुस्टर खोप लगाउने सुविधा लिँदा थप सुरक्षित हुन्छ भन्ने हो । 

पहिले पनि खोप नलगाएकाहरुमा समस्या देखिएको हो त्यसकारण लगाउन म आग्रह गर्छु । हुनत उहाँहरु पनि प्राकृतिकरुपमा संक्रमित भइ पनि रहनु भएको होला । तर, खोप लगाउँदा हामीले सुनेको पोष्ट कोभिडको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । कोरोना लागेर त्यस्तो समस्या आउनुभन्दा त लाग्नै नदिनु राम्रो हुन्छ । खोप लगाउनु भनेको शरीरमा संक्रमण भएपछि जुन एउटा असहज परिस्थिति सृजना गर्छ त्यसलाई रोक्ने हो ।  खोप लगाए पनि लाग्छ नै भन्ने पनि एक प्रकारको समूह पनि छ । खोप लगाउनु भनेको संक्रमण नहुनु भन्ने होइन संक्रमित भएर जटिल अवस्था मृत्यु हुने अवस्थालाई धेरै कम गराउनु हो । हामीले त्यसरी बुझ्नुपर्छ । 

अहिले तत्काल देखिएको लक्षणमा केही परिवर्तन देखिन्छ । ओमिक्रोन भेरियन्ट देखिनु अघि स्वाद र गन्ध थाहा नपाउने भयो भने त्यो कोभिड होला भन्ने अनुमान गर्न सकिन्थ्यो । किनकि त्यो लक्षण प्रमुख लक्षणमध्येमा आउँथ्यो । ओमिक्रोन देखिएपछि त्यो प्रमुख लक्षण भएन । त्यसबेला घाँटी दुख्ने, घाँटी खसखस गर्ने, नाकबाट पानी बग्ने, हाच्छ्युँ आउने आदि प्रमुख लक्षणकोरुपमा देखा परे जुन रुघाखोकीसँग धेरै मिल्दो थियो । तर, अहिले लक्षण बोकेर आउनेहरुले स्वाद र गन्ध दुवै वा एउटा नभएको भन्ने गर्नुहुन्छ । यसले स्वाद र गन्ध थाहा नपाउने पहिलेको जस्तो लक्षण त होइन भन्ने पनि देखिन्छ । यद्यपि यो ओमिक्रोन नै हो । ओमिक्रोनको विभिन्न उपप्रजातिहरु मिलेर बनेको नयाँ भाइरस भयो । 

सम्भवतः धेरै पटक संक्रमण भएर वा खोप लगाएर होला ज्वरो हनहनी नआए पनि जाडो हुने, जीउ दुख्ने, कसै कसैलाई खोकी लाग्ने जस्ता किसिमका समस्याहरु अहिले देख्न पाइन्छ । 

अहिले सामान्य रुघाखोकी लाग्दा पनि जोखिम समूहमा भएकाहरुले चाहिँ डाक्टरको परामर्श लिनुपर्छ । अरुले भने आठ/दश दिन आराम गर्ने तथा रुघाखोकी, वा कोरोना नै हुँदा पनि अलग भएर बस्दा राम्रो नै हुन्छ । फैलन नदिनलाई त जनस्वास्थ्यको मापदण्ड साबुन पानीले हात धुने, मास्क सही तरिकाले लगाउने गर्नुपर्छ । जटिल अवस्था नआओस भनेर त खोप नै लगाउनु पर्ने हुन्छ । 

(डाक्टर पुनसितको कुराकानीमा आधारित ।)
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

डा. शेरबहादुर पुन

डाक्टर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकाे क्लिनिकल रिसर्च युनिटका संयाेजक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया