पोस्ट बालेन स्टाटस सिंहदरबार 'टक' : उठ्दैन हैन टुट्दैन, डम्प हैन जम्प !

 चैत २६, २०७९ आइतबार १३:५२:२९ | मिलन तिमिल्सिना
unn.prixa.net

‘काला चश्मा... मेयरले सिंहदरबारको फोहोर उठ्दैन भनेको सुन्थे, तपाई त उठिरहनुभएको छ त ?’ सिंहदरबार गेटबाट भित्र छिरेको एउटा नेतालाई अर्कोलाई व्यङ्ग्य गरे ।

‘के रे ! कसलाई फोहोर भनेको ? आफैँ डुङडुङ्ती गन्हाउँदै आउने अनि अर्कालाई फोहोर र सोहोर !’ अर्का नेता झनक्क रिसाए ।

नरिसाउनु न नेताजी त्यसरी । सँगै उभिएर ऐना हेर्‍याैँ भने तपाईँ र म हात्ती छाप चप्पल झैँ उस्तै–उस्तै त देखिन्छौँ नि !

तपाईँ होला फोहोरजस्तो, म चाहिँ हैन । यी मलाई हेर्नुस् यहाँ, चट्ट मिलाएर दौरासुरुवाल र कोट लगाएको छु । टाउकोमा चुच्चे टोपी, दाह्री खौरिएर मुलायम भएको गाला, खुट्टामा उस्तै टल्कने जुत्ता । एक पाइला हिँड्न पनि पर्दैन, जता गए पनि गाडीमा झण्डा हल्लाउँदै सररर हुइँकिन पाइन्छ । न फोहोर टेक्न परेको छ, न देख्न । मजस्तो सफा मान्छे कसरी फोहोर हुन्छ ? बरु तपाईँको लुगा र जुत्तामा चाहिँ फोहोर देखिन्छ । त्यसैले तपाईँ नै फोहोरजस्तो, तपाईँ नै फोहोर ।

मैले शरीरबाहिर देखिने फोहोरको कुरा गरेको हैन क्या नेताजी, पेटभित्रको ।

पेटभित्र पनि फोहोर छैन । बिहानै खलास गरेर निस्केको । अघि भर्खर खाएको खाना फोहोर बन्ने प्रक्रियामै पुगेको छैन होला । बाहिर पनि सफा छु, भित्र पनि सफा छु म त ।

मैले खलास नगरेर पेटभित्र फोहोर छ भन्या पनि हैन क्या ।

अनि भनेको चाहिँ के त ? काला चश्मे मेयरले फेसबुक स्टाटसमा लेखेझैँ सिधा भन्नु न ।

उनले पनि कहाँ सिधासिधा लेखेका छन् र ? उनले लेख्नै जानेनन् ।

किन जान्दैनन्, कामै फेसबुक स्टाटस मात्रै लेख्नेले ।

उनले सिंहदरबारमा फोहोर अब उठ्दैन भनेका छन् । भन्नुपर्ने चाहिँ सिंहदरबारमा फोहोर टुट्दैन हो । 

कसरी ?

ल, सुन्नुहोस् ! तपाईँ र मैले लुगा चट्ट मिलाएरै लगाएका छौँ । अनुहार चिरिच्याट्टै छ । तर मान्छेहरूले हामी नेतालाई कहिल्यै सफा देख्दैनन् । हुन पनि हो हामीमध्ये कोही त्यही फोहोर मिसिएको भ्रष्टाचारमा डुबेर डुङडुङ्ती गन्हाएका छौँ । कोही चाकरी, चाप्लुसी, जासुसी, ढिलासुस्ती, स्वार्थ र आसेपासेको जालोमा जेलिएर बिरुप भएका छौँ । यसरी फोहोरै फोहोरले बिरूप भएका हामी सिंहदरबार आइरहन्छौँ । जनताले पनि हामीलाई नै सिंहदरबार पठाइरहन्छन् । उनीहरूलाई लाग्दो हो, फोहोरीलाई गाउँमै राख्यो भन्यो गाउँ नै डुङडुङ्ती गन्हाउँछ । सिंहदरबार आइसकेपछि हाम्रो आँखा पहिले लोभ र स्वार्थको फोहोरमै गाडिन्छ । त्यो फोहोरभित्र हामी आफैँ, आफ्ना नातागोता र आसेपासे हुन्छन् । जनतासित गरेको वाचा त्यही फोहोरमा मिल्काउँछौँ । कतै सफा हुन लाग्यो भने त्यसलाई चलाएर फेरि फोहोर बनाउँछौँ । सङ्लो पानीलाई धमिलो बनाएर त्यहीँ माछा मार्दै रमाइलो गर्छाैँ । एक अर्कालाई गालीगलौज गरेर हिलो छ्यापाछ्याप गर्छाैँ । छिनमै जुध्छौँ, छिनमै मिल्छौँ । बिहान एउटासँग लपक्क, दिउँसो अर्कोसँग सपक्क, राति फेरि अर्कैसँग सुटुक्क गरेर छिनभरमै गठबन्धन फेर्छाैँ । मान्छेहरूले छिःछिः र दुरदुर गरेको पत्तो पाउँदैनौँ । देश र जनताका समस्यामा धेरथोर फोहोर घोलेर फोहोरमै रमाउँछौँ । फोहोरको आहालमा डुब्न नपाउँदा छटपटीले खपिनसक्नु हुने हामी फोहोरको डङ्गुर भएनौँ त ?

ओहो कति धेरै बोलेको तपाईँ ? यसरी आफ्नो पोल आफैँ खोल्छन् ? फोहोर फोहोर भनेर नचिच्याउनुहोस् है, अहिले त्यही कालो चश्मे बालेन डोजर लिएर फाल्न आउलान् ।

आउँदैनन् हो आउँदैनन् । बाग्मतीको किनार फराकिलो बनाउन भन्दै डोजर लिएर जान खोज्दा तपाईँ, हामीले नै हैन र बाटो छेक्न लगाएको ? हामीले सहयोग गरे पो उनले डोजर चलाउन सक्छन् । डोजर चलाएर उनले सबैथोक सके भने हामी चाहिँ के हेरेर बस्ने ? हामीले फेरि चुनाव जितेर सिंहदरबार ओहोरदोहोर गरिरहन परेन ? त्यसैले अब बालेनले गर्ने भनेको फेसबुकमा स्टाटस लेख्ने मात्रै हो । तपाईँ, हामी मञ्चमा उभिएर भाषण गर्ने, उनी घरमा चश्मा ढल्काएर फेसबुकमा लेख्ने ।

अनि तपाईँ, हामीलाई त सिसडोलमा लगेर डम्प गर्ने भनेका छन् नि । 

हामीलाई डम्प गर्ने ? सिसडोलमै जम्प गर्ने बानी परेकालाई डम्प गर्न सजिलो छ ? फोहोर उठाएर काठमाण्डौ सफा गर्न खोज्नेलाई सिसडोलमा झण्डा बोकेर जम्प गर्दै पछार्न के को आइतवार ? हामीलाई बेलाबेला सिसडोलमा जम्प गरेको देखेकाले नेतालाई जम्प गर्ने भनेर लेख्या होलान्, गल्तीले डम्प भएको होला ।

भनेपछि ती कालो चश्मेले हाम्रो केही बिगार गर्न सक्दैनन् ?

सक्दैनन् क्या सक्दैनन्..., ढुक्क हुनुहोस् । 

अनि सिंहदरबारमा अब फोहोर उठ्दैन भनेका छन् । भित्र छिर्नै नसकिने गरी फोहोरको डङ्गुर लाग्यो भने कसरी ओहोरदोहोर गर्ने ?

हरे कति पटक भन्नु त्यही कुरा । एउटा फिल्मको डाइलग सुन्नुभएको होला नि ‘खैनी हैन चुरोट’ । हो त्यस्तै सिंहदरबारमा फोहोर उठ्दैन हैन टुट्दैन ।

अनि सिसडोलमा डम्प ?

चुप... चुप हैन चुप्पा भन्याजस्तै सिसडोलमा डम्प हैन जम्प !

अन्तिम अपडेट: चैत १०, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया