एसईई सकिएर फुर्सदमा हुनुहुन्छ ? घुमफिर र परिवारलाई समय छुट्याउनुहाेस्

 चैत २७, २०७९ सोमबार १०:५०:१५ | प्रा. डा. विनयकुमार कुसियैत
unn.prixa.net

फाइल तस्बिर

माध्यमिक शिक्षा परीक्षा एसईई भर्खर सकिएको छ । एसईई दिएर बसेका विद्यार्थीहरु फुर्सदिला भएका छन् । विद्यार्थीहरु फुर्सदको समयलाई कसरी उपयोग गर्ने भनेर योजनाहरु बनाइरहेका होलान् । फुर्सदको समयलाई विद्यार्थीहरुले दुरुपयोग नगरुन् भन्नका लागि यो बेला विद्यार्थी र अभिभावक दुवै चनाखो हुनुपर्दछ । 

एसईईलाई सामान्य परीक्षाका रुपमा बुझ्ने

एसईई सञ्चालनको विद्यमान तौर तरिकाको औचित्य छैन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा मानेको छ । तर, एसईईलाई पुरानो एसएलसीको रूपमै लिने गरिएको छ । शिक्षक, विद्यार्थी र अभिभावकका लागि एसईईका विषयमा अझै पुरानै हाउगुजी जस्तो छ ।

एसईईमा प्राप्त अङ्कलाई प्रतिष्ठाको विषय बनाइएको छ । यो बिलकुल गलत हो । यसले विद्यार्थीहरुलाई तर्साइरहन्छ । तर आत्तिनु हुँदैन । यो परीक्षा पनि अरु कक्षाको जस्तै वार्षिक परीक्षा हो । बरु अब १२ कक्षाको परीक्षालाई सुधार गर्नु आवश्यक छ ।

खाली समयलाई भविष्यसँग जोड्नु पर्छ 

यो समय विद्यार्थीले आफ्नो भविष्यको बारेमा सोच्ने, चिन्तन गर्ने र योजनाहरु बनाउने सुनौलो अवसर हो । आफ्नो रुचि र त्यही अनुसारको क्षमता पहिचान गरी भविष्यमा गर्ने कामका योजनाका खाका  अहिलेदेखि नै तयार गर्नुपर्छ । यसले गर्दा जीवनमा अन्योल र अलमल छाउने सम्भावना कम हुन्छ ।

आफ्नो क्षमता र रुचि पहिचान

पहिलो कुरा त तपाईंको रुचि के हो, त्यो रुचिलाई प्राथमिकतामा राख्नुहोस् । रुचि र क्षमताको आधारमै आफूले पढ्ने विषय छनाेट गर्ने हो । एसईईको नतिजा सार्वजनिक भएपछि धेरै विद्यार्थीहरुलाई त्यसपछि के पढ्ने भनेर समस्या भएको हुन सक्छ ।

एसईई उत्तीर्ण विद्यार्थीहरुलाई लक्षित गरी खोलिएका धेरै कलेजहरुले विभिन्न किसिमका कोर्सहरु पढाउने गर्छन्, आकर्षक प्रचारहरु पनि गर्ने गर्छन् । विभिन्न किसिमका कोर्स र आकर्षक विज्ञापनको कारण विद्यार्थीहरुलाई के पढ्ने, कहाँ पढ्ने भनेर दोधार हुन्छ । निर्णय भने आफैँँ गर्नु पर्छ ।

ब्रिज कोर्स गर्ने 

आफूलाई इच्छा भएको विषयवस्तु छनोट गरेर त्यसका लागि आवश्यक तयारी गर्नुपर्छ । प्रविधियुक्त अहिलेको समयमा कुनै संस्था वा व्यक्तिसँग आबद्ध नभइ पनि इन्टरनेट, युट्युब, सामाजिक सञ्जाल लगायतका प्लेटफर्ममार्फत् आफैँँ पनि थुप्रै महत्त्वपूर्ण जानकारी लिन सकिन्छ । यसरी नै धेरै कुरा सिक्न सकिन्छ । आफूले पढ्ने विषय पहिला आफैँले रोजेर मात्र त्यसबारे अरुसँग परामर्श लिनुपर्छ ।

विद्यार्थीले पढ्ने विषय अभिभावक, शिक्षक वा कुनै शैक्षिक संस्थाले  प्रभाव वा दबाबमा पारेर रोज्न लगाउनु हुँदैन । यस बाहेक विद्यार्थीहरुले विभिन्न सीपमूलक तालिमहरु लिएर पनि खाली समयको सही सदुपयोग गर्न सक्छन् ।

परिवार र आफन्तसँग समय बिताउने

छोराछोरी ढोका थुनेर बस्ने, घरपरिवारका सदस्यसँग नबोल्ने, इन्टरनेट र टीभीमा मात्र झुम्मिने भएकाले उनीहरु एकोहोरो बन्ने हुन् कि भन्ने चिन्ता धेरै अभिभावकलाई छ । त्यसैले यो समयमा परिवार र आफन्तसँग पारिवारिक विषयमा कुराकानी गर्ने बानी बसाल्नुपर्छ । परिवारप्रति जिम्मेवार बनाउने प्रयास गर्नुपर्छ । अभिभावकहरुले पनि छोराछोरीहरुलाई समय दिनुपर्छ ।

साथीसँग घुमफिर गर्ने र समसामयिक विषयवस्तुमा छलफल गर्ने

विद्यार्थीहरुले साथीहरुसँग भेटघाट गरेर फुर्सदको समय सदुपयोग गर्न सक्छन्  । विभिन्न ठाउँमा भएका धार्मिक र पर्यटकीय स्थलहरुको भ्रमण गर्न सकिन्छ । देशको भूगोल, राजनीति, कला संस्कृतिबारे छलफल गरेर ज्ञान पनि हासिल गर्न सकिन्छ । सँगसँगै हिँड्ने, डुल्ने, गफ गर्ने भएपछि साथीहरुसँग सुमधुर र प्रगाढ सम्बन्ध हुन्छ । 

(शिक्षाविद् कुसियतसँग गरिएको कुराकानीमा आधारित । उहाँसँगको विस्तृत कुराकानी बदलिँदाे नेपालमा सुन्न सकिन्छ )

अन्तिम अपडेट: बैशाख १, २०८१

प्रा. डा. विनयकुमार कुसियैत

प्रा. डा. विनयकुमार कुसियैत शिक्षा विज्ञ  हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया