मेयर शाहकाे अभिव्यक्तिप्रति सरकारले भन्याे– ‘नागरिककाे स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन’

 चैत ३०, २०७९ बिहिबार १७:४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले काठमाण्डाै महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर नागरिककाे स्वास्थ्यमाथि खेलबाड गरेको बताएकाे छ ।

बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले काठमाण्डाे महानगरले सिंहदरबारभित्रको फाेहोर नउठाएर नागरिककाे स्वास्थ्यमाथि खेलबाड गरेको बताउनुभएको हो । उहाँले गर्मीको समयमा त्यसरी फोहोर नउठाउनाले आम नागरिककाे स्वास्थ्यमा असर पर्ने भन्दै यस्तो गर्नु राम्रो नभएको बताउनुभयो । कुनै अर्को उद्देश्य पूर्तिका लागि फोहोर नउठाएर हड्तालको विषय बनाइएको उहाँकाे भनाइ छ । 

मन्त्री शर्माले महानगरपालिकाको मेयरले भनेको विषय टुङ्गिएन भनेर नागरिककाे स्वास्थ्यमाथि खेलबाड गर्न नपाइने बताउनुभयो । उहाँले सङ्घीय सरकारले सहजीकरण गरेर टुङ्ग्याउनुपर्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो । काठमाण्डाैका मेयरले संविधान, कानुन र स्थानीय सरकार सञ्चालन ऐन बुझेर काम गर्नुपर्ने उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘पालिका पनि सरकार हो । त्यसले संविधान पनि बुझ्नुपर्छ । त्यसले नीति पनि बुझ्नुपर्छ । कानुन पनि बुझ्नुपर्छ र त्योअनुसार चल्नुपर्छ । संविधानको अनुसूची ८ मा एकल अधिकार क्षेत्रभित्रमा फोहोरमैला व्यवस्थापनको कुरा पालिकाकाे हुनेछ भन्ने कुरा स्पष्ट छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ हेर्‍याैँ भने त्यहाँ पालिकाले के–के गर्ने भनेर बुँदागत रूपमा लेखिएको छ । तर त्यो लेखिएको विषयलाई अर्को कुनै उद्देश्य पूर्तिका निम्ति र अर्को कुनै कामलाई सल्ट्याउनका निम्ति हडतालकाे विषय बनाउनुहुन्न । किनभने यो गर्मीको समय, आम नागरिककाे स्वास्थ्यसँग जोडिएको विषय, यो धेरै संवेदनशील विषय हो । त्यस कारण जिम्मेवार पदाधिकारीले यस्तो विषय बोल्नु, यस्ता खालका कदम चाल्नु भनेको कुरा राम्रो होइन । यसले राम्रो सन्देश दिँदैन । यसले जनस्वास्थ्यमाथिको खेलबाड पनि ठहर्छ ।’

सङ्घीय सरकारले सहयोग नगरेको भन्दै मेयर शाहको निर्देशमा सिंहदरबारको फोहोर उठेको छैन । महानगरपालिकाले फोहोर नउठाएपछि मन्त्रिपरिषद्को बैठकले सिंहदरबारको फोहोर उठाउने जिम्मेवारी महानगरपालिकाकै भएकाले जिम्मेवारीबाट पन्छिन नमिल्ने जनाएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

2 Comments

  • Binod Ghimire

    April 13, 2023, 11:10 p.m.

    तिमी घाँस खानेहरुले आफ्नो कर्तव्य नभुलेको भए उसले पनि आफ्नो कर्तव्य निभाउथ्यो कि???

  •  0 Reply
  • गणेश श्रेष्ठ

    April 13, 2023, 5:16 p.m.

    नागरिक भन्दा माथि नगर हुन्छ नगर भन्दा माथी देश र नेपाल मा राजनीति गर्ने प्रमुखहरूलाई देश कै भबिस्य माथी खेबाबाड गरेर देश टाट पल्टाउन छुट हुन्छ कि हुदैन ? अनि मेयर साब ले हाम्रो नगर जोगाउनु पर्छ कला धर्म संस्कृति जोगाउनु पर्छ भन्दा जनताको स्वास्थ्य माथी खेलबाड भयो ?देश रहे जनता रहन्छ चेतना भया 🤗

  •  0 Reply

तपाईको प्रतिक्रिया