सरकारलाई रास्वपा सांसदकाे प्रश्न– आफ्नो खल्तीबाट पैसा नजाने भएपछि मलाई ‘बाल’ भन्न पाइन्छ र ?

 बैशाख ६, २०८० बुधबार १६:४२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले संसदमाथि सरकारको हालीमुहाली बन्द गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले संसदमाथि सरकारको हालीमुहाली भएको भन्दै यसलाई बन्द गर्न आग्रह गर्नुभएको हो । उहाँले मङ्गलवार बस्ने भनिएको सभाको बैठक मन्त्रिपरिषद् बैठकका लागि भन्दै स्थगित भएकोप्रति असन्तुष्टि जनाउनुभयो । उहाँले जनप्रतिनिधिको समयको केही मूल्य नहुने हो भनी प्रश्नसमेत गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हिजोको अधिवेशन आकस्मिक रूपमा स्थगित भयो । मन्त्रिपरिषद् बैठक दिउँसाे ४ बजे छ भन्ने सुन्नमा आयो । समय नजुध्ने गरी दुई वटा बैठककाे समय मिलाउन सकिँदैन थियाे ? हामी जनप्रतिनिधि, नागरिकबाट छानिएर आएका प्रतिनिधिको समयको पनि केही मूल्य नहुने हो ? एक पटक सदन बस्दा १० लाख रुपैयाँ हाराहारीमा खर्च हुने भनेर पत्रपत्रिकामा आएको थियो । सरकारले कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्थामा के यो १० लाख रुपैयाँ हामीले बचाउन सक्दैन थियाैँ ? के करदाताको पैसा त्यति सस्तो छ ? आफ्नो खल्तीबाट पैसा नजाने भएपछि मलाई बाल भन्न पाइन्छ र ? मलाई निकै अचम्म लागेको छ । सदन र मन्त्रिपरिषद् जम्मा दुई वटा निकायबीच समन्वय गर्न नसक्ने हामी ठूलो परियोजनामा धेरै मन्त्रालय र निकायबीच समन्वय झन् कसरी होला ? सडक विभागले आज पिच गर्छ, भोलि खानेपानीले गएर पिच बिगार्छ । बाटो चाहिँ घाम लागे धुलो, पानी परे हिलो । अनि बिरामी हुने हामी । सदनमाथि सरकारको यस्तो हालीमुहाली बन्द गरौँ ।’

सांसद श्रेष्ठले सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याइने गरिएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया