चितवनमा ‘रवि मुभमेन्ट’ : स्वीकार्नै पर्ने केही सत्य

 बैशाख १४, २०८० बिहिबार १०:४९:५३ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन २ को मत परिणामले जित्नेहरुलाई उत्साहित त बनाएको छ नै, हार्नेहरुलाई पनि आश्चर्य चकित पारेको छ । हार्ने र जित्ने दुवैलाई अनौठो लागेको चितवनको परिणाम जति चर्चामा छ, त्योभन्दा धेरै यहाँको चुनावी अभियानमा देखिएका गतिविधि बहसको केन्द्रबिन्दु बन्न जरुरी देखिन्छ ।

मंसिरको चुनावमा भन्दा पनि यसपटकको उपचुनावमा रवि लामिछाने लोकप्रिय मतका साथ विजयी भएका छन् । उनको दोस्रो शानदार जितले प्रतिस्पर्धी र ठूला भनिने दलहरु झस्किएका छन् । ती दलका नेता कार्यकर्तामाझ अब सच्चिने कि सक्किने भन्ने बहस चल्न थालेको छ । सर्वाधिक र लोकप्रिय मतका साथ दोहोर्याएर जितेका रविले ठूला दलहरुलाई सच्चिनको लागि प्रेरित त गरेका छन् नै, चुनावी प्रचार र अभियानलाईसमेत सुधार्न सफल भएका छन् । यो क्षेत्रको चुनावी अभियानका क्रममा रविकै कारण देखिएका सकारात्मक र स्वीकार गर्नैपर्ने केही सत्य यस्ता छन् :

१. चितवनमा रवि लामिछाने उम्मेदवार नभएका भए अरु पार्टीबाट युवाहरुले उम्मेदवार बन्ने मौका पाउँदैन थिए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रविको सट्टा अर्को उम्मेदवार भएको भए यो क्षेत्रमा अरु पार्टीबाट ‘उपेन्द्र यादवहरु' नै अगाडि सर्थे । युवाका प्रतिस्पर्धी युवा नै बनाउन सके चुनावी परिणाममा सुधार ल्याउन सकिन्छ भन्ने सहज आकलन गरेरै अरु दलले पनि युवा उम्मेदवारलाई अगाडि सारेका हुन् । 

२) नेता देखे 'चोर' र दल देखे 'दलाल' भन्ने अवस्थामा पुगिसकेको समाजमा अहिले नेता र दलप्रति हेर्ने दृष्टिकोण केही फेरिएको छ । नेता र उम्मेदवारलाई फूलमालाले स्वागत गर्ने जमात बढेको छ । नेताको नाम सुन्नेबित्तिकै मुन्टो बटार्नेहरु नेताको हात समाउन पाउँदा 'गौरव' र देख्न पाउँदा 'खुसी' हुने अवस्थामा पुगेका छन् । नेता र दलको खुलेआम आलोचना भइरहेको बेला नेताप्रतिको सम्मान र दलप्रतिको विश्वास जाग्न थालेको छ । राष्टिय स्वतन्त्र पार्टी र रविलाई गाउँठाउँमा गरिएको भव्य स्वागतले दल र नेताप्रतिको वितृष्णा घट्न थालेको देखिन्छ । तर ठूला दल र नेताले भने आफूलाई नसुधारेसम्म यसैगरी स्वागत र सम्मान पाउने अवस्था देखिँदैन ।

३) व्यवस्था नै जोखिममा पर्न थालेको हो कि भन्ने बहस चलिरहँदा यही प्रणालीमा पनि सम्भावना छ भन्ने मत बलियो बन्न थालेको छ । चुनावप्रतिको वितृष्णा बढेको बेला चुनावी अभियानमा उत्साह जागेको छ । रविको चुनावी अभियानमा देखिएको जनलहरले यही व्यवस्थाबाट देशमा सुख, समृद्धि, सुशासन र विकास सम्भव छ भन्ने सन्देश दिएको छ । युवाहरुलाई नेतृत्वको लागि अगाडि सर्न प्रेरित गरेको छ । युवाहरु अगाडि सरे भने यही प्रणालीबाट परिवर्तन सम्भव छ भन्ने विश्वास बढेको छ ।  

४) चुनावको बेला मोटरसाइकलमा तेल, पेटमा चारो, खल्तीमा दाम नहालिदिएसम्म डेग नचल्ने 'कटिबद्ध' कार्यकर्ता भन्दा दाम होइन काम भन्ने भावनाका साथ स्वःस्फूर्त ताँती लाग्ने नागरिकको सङ्ख्या बढेको छ । पहिलेको चुनावमा पेट्रोलको कुपन लिएर पम्पमा लाइन लाग्ने क्रम यो चुनावमा देखिएन । खाजा र खानाका कुपन लिएर होटल रेष्टुरेन्टमा देखिने भिड यसपटको चुनावमा भेटिएन र चुनावी खर्च भन्दै आन्तरिक रुपमा सहयोग वितरणको सुइँको समेत पाइएन । यसबाट चुनावमा खर्च गर्न आवश्यक छैन भन्ने मान्यता स्थापित भएको छ । रविको चुनावी प्रचारमा सहभागीहरु आफ्नै खर्चमा स्वःस्फूर्त हिँडेका कारण अरु दलका लागि पनि खर्च कटौतीमा सहयोग पुगेको सत्य देखियो ।

५) मौन अवधिमा 'उल्फाको धन फुपूको श्राद्ध' जसरी पैसाको खोलो बगाएर भोट किन्नुपर्छ भन्ने मान्यता कम भएको छ । पहिले मौन अवधिमा रातिराति सामान र पैसा वितरण हुन्थे । यसपटकको चुनावमा त्यो देखिएन । नेताले बाँडेको मासुभातमा रमाउन हुँदैन र दिएको सरसामान लिन हुँदैन भन्ने तर्क स्थापित भएको छ । 

६) मतदानमा आएकालाई टेन्ट टाँगेर मासुभात र आलुचिउरा पेटभरी खुवाएर पठाउनै पर्छ भन्ने मान्यता हटेको छ । हरेक पटकको चुनावमा मतदान केन्द्र वरपर दलै पिच्छेका भान्छा हुन्थे । यस पटकको चुनावमा मतदानको दिन अपवादबाहेक त्यस्ता भान्सा देखिएनन् । मतदातालाई घरबाट मतदान केन्द्रसम्म गाडी र मोटरसाइकलमा ओसार्ने प्रतिस्पर्धा पनि यसपटक देखिएन ।  

७) पत्रकारहरु प्रचारक मात्रै, विज्ञहरु सुझाव दिने मात्रै र आस्थावानहरु 'गोठालो' मात्रै हुन् भनी ठान्नेहरुलाई झापड हानेको छ । ठूला दलहरुले आफ्ना दलमा आबद्ध रहेका र सहयोग गर्दै आएकाहरुलाई हेर्ने र बुझ्ने नजरमा परिवर्तन आएको छ । पत्रकार केवल पत्रकार मात्र हुन्, यिनले नेतृत्व गर्न सक्दैनन् र जान्दैनन भन्ने मान्यता शून्यमा झरेको छ । हिजोको पत्रकार आज राजनीतिमा आएर सबैभन्दा धेरै जनमत पाएर लोकप्रिय भइरहँदा पत्रकार प्रचारक मात्र होइन् अवसर पाउँदा नेतृत्व गर्न सक्षम छन् भन्ने तथ्य स्थापित भएको छ । 

रवि लामिछाने र उनका केही शुभचिन्तकको प्रस्तुति र शैली आलोचनाका विषय होलान्, तर यसपटकको चुनावबाट रविले शानदार जितसँगै चुनावी प्रक्रिया र संसदीय प्रणालीमा सकारात्मक परिवर्तन र सन्देश दिनसमेत सफल भएका छन् । 

तस्बिर : रवि लामिछानेकाे फेसबुक

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

1 Comments

  • atma ram paudel

    May 1, 2023, 2:11 a.m.

    अहिले को बासत्बिकता नै सच्चिनेकी सक्किने नै हो

  •  0 Reply

तपाईको प्रतिक्रिया