याे सरकारले केही पनि गर्न सक्दैन : केपी ओली

 बैशाख १८, २०८० सोमबार १५:३२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गर्नुभएको छ । नेपालीले पाएकाे उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरू सलबलाउन थाल्दा पनि सरकार गम्भीर नभएको ओलीको भनाइ थियो । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज साेमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ भनेर अचम्म मान्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरे जसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरीहता मात्रै प्रकट गरिरहेको जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामी नेपाली यति बेला गम्भीर हुनुपर्ने अवस्थामा आएका छौँ । अहिले अनेक प्रकारका तत्त्वहरू, अनेक प्रकारले लोकतन्त्रका विरुद्ध, नागरिकले पाएका अधिकारहरूको विरुद्ध सक्रिय भएर सलबलाउन थालेका छन । कोही–कोही दुलाबाट फुत्त निस्केलान् कि जस्तो गरेर, दुलोबाट मुसोले बिरालो हेरे जसरी अनुकूल स्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन् । अहिलेको सरकार सरकारमा किन बसिरहेको छ ? अचम्म लाग्दो छ किन बसिराखेको छ ? केही पनि गर्न नसक्ने सरकार ।’ 

ओलीले सिंहदरबारको फोहोर काठमाण्डाै महानगरपालिकाले उठाउँदिन भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो । सिंहदरबारको फोहोर काठमाण्डाै महानगरपालिकाले उठाउने नगरेको तथ्य नागरिकलाई भन्न पनि सरकारले नसकेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले सहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर उठाउने काम ठेक्कामा दिएको तर ठेकेदारले काम नगरेको उल्लेख गर्दै सरकार र ठेकेदारबीचको सम्बन्धबारे खोजी गर्नुपर्ने अवस्था आएको बताउनुभयो । 

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले श्रमिकहरूबीच फाटो ल्याउने प्रयास फेरि पनि भइरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पारेर अघि बढ्न सबै मजदुरहरूलाई एकताबद्ध हुन आह्वान गर्नुभयो । मजदुरहरूको हक, हित र उनीहरूको जायज माग सम्बोधन गर्न उनीहरूको बीचको एकता सबैभन्दा ठूलो बल भएको उहाँले बताउनुभयाे ।

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • Dinesh Rai

    May 1, 2023, 4:33 p.m.

    हो यो सरकार ले केही garna sakdaina,,लक्ष्मी महतो कोईरि लाई त समाउन nasakne nalayak सरकार

  •  0 Reply

तपाईको प्रतिक्रिया